काठमाडौं, पुस २४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०७९ को प्रतिनिधि सभाको चुनाव हारेका र विगतमा पटक पटक अवसर पाएकाहरुले राष्ट्रिय सभाको उम्मेदवार हुने अवसर पाएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले नेपालले हाल अवलम्बन गरेको व्यवस्था बेठीक नरहेको तर, व्यवस्था संचालन गर्नेहरुले व्यवस्था नै हाइज्याक गरेको आरोप लगाए । त्यसको प्रमाण राष्ट्रिय सभाको चुनावमा उम्मेदवार भएकाहरु रहेको उनको भनाइ छ ।
उनले भने, ‘म नाम लिएर भन्दिन । तर, चुनाव हारेका मान्छेहरु ठाँटले राष्ट्रिय सभामा उम्मेदवार भएका छन्’ उनले थपे, ‘चुनाव हारेकालाई त्यही कार्यकालमा राष्ट्रिय सभामा ल्याउन खोज्नुको कारण छ ।’ तर, कारणको विस्तृत ब्याख्या नगरेका उनले नेतृत्वले जे गरे पनि ठीक भनेर हिड्नुपर्ने बाध्यतामा स्वयम सांसदहरु रहेको भनी ब्यङ्ग्य गरे । ‘मुटुमाथी ढुंगा राखेर यहाँहरु (अन्य दलका सांसदहरु) लाई हाँस्नु परेको छ ।’