चितवन, पुस ५-
चितवनमा तेस्रो एभरेष्ट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा यही पुस सात र आठ गते भरतपुरको कभर्ड हलमा हुन लागेको हो । यसअघि पहिलो र दोस्रो संस्करण काठमाण्डौँमा भएको थियो ।
प्रतियोगितामा सातै प्रदेशका विभागिय टोलीहरुको सहभागिता रहने आज(बिहिबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । तर, यस प्रतियोगितामा राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा स्वर्णपदक लिएका खेलाडी सहभागी हुन पाउने छैनन् । नयाँ प्रतिभालाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई खेलमा सहभागी नगराउने निर्णय गरिएको प्रतियोगिताका संयोजक रमेश कार्कीले जानकारी दिए ।
दुर्गम जिल्लाका खेलाडीलाई प्रोत्साहन दिँदै अन्तराष्ट्रिय प्रतियोगितासम्म पु¥याउने लक्ष्य रहेको उनले बताए । प्रतियोगितामा २० केजिदेखि ८० केजि तौलसम्मका खेलाडीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता तौलका आधारमा सञ्चालन गरिने उनले जानकारी दिए । ६५ डोजाङको उपस्थिती रहेने प्रतियोगितामा ३७ पदक रहेको उनले बताए ।
हुम्ला, जुम्ला, खोटाङ लगायतका दुर्गम जिल्ला सहित अन्य जिल्लामा डोजाङहरुको सहभागिता रहने छ । दुर्गम जिल्लाका खेलाडीहरुलाई खाना बस्न सहित खेल सामाग्रीको समेत निःशुल्क प्रदान गरिने संयोजक कार्कीले जानकारी दिए ।
प्रतियोगितामा फाइटर टपर तर्फ प्रथम पुरस्कार एक लाख, द्धितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको छ । यस्तै पुम्से तर्फ प्रथम पुरस्कार २० हजार द्धितिय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार रुपैयाँ तोकिएको छ ।