चितवन, मंसिर २८- भरतपुरदेखि माडीसम्म वृहत् मोटरसाइकल र्याली गरिने भएको छ ।
भरतपुर–१ को देवघाटधामदेखि माडीको सोमेश्वर गढीसम्म मंसिर ३० गते ‘जय सनातन अभियान नेपाल’ ले वृहत् मोटरसाइकल र्याली गर्न लागेको हो ।
आज भरतपुरको महाकालेश्वर शिव मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा सनातन अभियान नेपालका अध्यक्ष घनश्याम पौडेल ‘श्याम’ ले सनातन संस्कृति परम्परा र सभ्यताको जगेर्न, धार्मिक ऐतिहासिक क्षेत्रको प्रचारप्रसार र सवद्र्धन गर्ने उद्देश्यले र्याली गर्न लागिएको जनाएको छ ।
मोटरसाइकल र्यालीमा देवघाटको कालीगण्डकीको जललाई २१ घडामा लिई माडीको सोमेश्वर कालिका मन्दिरमा अर्पण गरिने पत्रकार सम्मेलनमा जनाइएको छ । यस धार्मिक यात्रामा १०८ मोटरसाइकल र १५१ श्रद्धालु भक्तजनको सहभागिता रहनेछ । देवघाटबाट सुरु हुने र्याली महाकालेश्वर शिव मन्दिरमा बिहान ८ः ३० बजे जम्मा भई माडीतर्फ लाग्नेछ ।
यात्रामा विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष एवम् पदाधिकारीहरु, सन्त सभा नेपालका प्रतिनिधिहरु, धर्मगुरुहरु, स्वामी र पिठाधीसहरुको सहभागिता रहने जनाइएको छ । जय सनातन अभियान नेपालले चितवन जिल्ला र आसपासका ऊँ कार परिवारसहित हिन्दूधर्मालम्बीहरुलाई सहभागिताका लागि अनुरोध गरेको छ ।