काठमाडौं, असोज १९-
चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित बनेको छ।
शुक्रबार विहान हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको हो। नेपालमाथि भारतले ६१–१७ अंकको जित निकाल्यो।
यसअघि तीन टिम सम्मिलित समूह ‘बी’ मा नेपालले आफ्नो पहिलो खेलमा बंगालदेशलाई हराएको थियो। आफ्नो दोस्रो खेलमा भने नेपाल इरानसँग पराजित भएको थियो।
समूह उपविजेता बनेसँगै नेपालको कास्य पदक पक्का भएको थियो। एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने दुई टिमलाई कास्य पदक दिने प्रावधान छ।
यता समूह ‘ए’ बाट भारत र चाइनिज ताइपेई अन्तिम चारमा पुगेका थिए। यो इभेन्टको फाइनल भोलि हुनेछ।
महिला कबड्डी नेपालका लागि एसियाली खेलकुदमा पदक जिते त्यो टिम खेलबाट दोस्रो खेल हो। यसअघि सन् २०१८ को इन्डोनेसियाको एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको टिम इभेन्ट्सबाट रजत जितेको थियो।