नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु भएको छ । अमरसिंह चौरमा सोमबार भएको उद्घाटन सत्रमा केही रोचक दृश्य देखिए ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध युवतीहरूले एकतिर गालामा अंग्रेजीमा ‘केपी बा’ लेखेका थिए । अर्कोतिर नेकपा एमालेको चिह्न सूर्य र हँसिया हथौडा बनाएका थिए । अझ अर्को फरक दृश्य त केही महिलाहरूले सूर्य चिह्न भएको सारी नै लगाएका थिए । पहेँलो रंगको सारीमा रातो रंगको सूर्य चिह्न थियो ।
अधिवेशनकै लागि छुट्टै पानीको बोतल पनि तयार पारिएको थियो । त्यसमा सूर्य चिह्नभित्र हँसिया हथौडा र केपी ओलीको तस्वीर प्रिन्ट गरिएको थियो । एमालेनिकट व्यवसायी सञ्जीवबहादुर कोइरालाले उक्त पानीको बोतल व्यक्तिगत खर्चमा तयार पारेका हुन् ।
महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी र थममाया थापालगायतले बोलेपछि उद्घाटन सत्र सकियो । अधिवेशनको बन्द सत्र पोखरा सभागृहमा मंगलबारबाट सुरु हुनेछ । त्यहाँ प्रतिवेदन प्रस्तुति र महासचिव शंकर पोखरेलको सम्बोधनपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ ।
अध्यक्ष बन्न उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षबाट नवराज शर्मा र महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीका तर्फबाट मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार बन्ने सम्भावना छ ।
पौडेल-गुरुङ समूहबाट सचिवमा धनञ्जय दवाडी र पोखरेल-अर्याल-अधिकारी समूहबाट रश्मी आचार्य सचिवका उम्मेदवार बन्ने चर्चा छ । नेतृत्व चयन गर्न ११ वटा जिल्ला र जनवर्गीय संगठनबाट ९ सय ७ जना प्रतिनिधि आएका छन् । उनीहरूलाई पोखराका २१ वटा होटलमा बास बस्ने व्यवस्था मिलाइएको छ । सर्वसम्मत हुने सम्भावना निकै न्यून भएकाले अधिवेशन बुधबारसम्म लम्बिने देखिएको छ ।