चितवन, असोज १०-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने मंगलबार माडीको विकट इलाका बाँदरझुला पुगेका छन् । चेपाङहरुको बसोबास रहेको बाँदरझुला पुगेर लामिछानेले स्वास्थ्य, शिक्षा र खानेपानीजस्ता जनताका आधारभुत आवश्यकता पुरा गर्नका लागि पहल गर्ने बताए । आफु अर्काे क्षेत्रबाट निर्वाचित सांसद भएपनि स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर जनताको काम गर्ने उनले बताए ।
अरु दलसँगको लडाई चुनावमा बाहेक अरुबेला नहुने उनको भनाइ थियो । ‘मेरो लडाई चुनावमा मात्रै हो । म कुनै पनि दलसँग चुनावमा बाहेक लड्दिन । म मिलेर काम गर्न तयार छु । तपाईले निर्वाचित गर्नुभएको जनप्रतिनिधिसँग बसेर उहाँलाई कसरी सहयोग गर्न सकिन्छ, दलभन्दा माथि उठेर सहयोग गर्ने छु’, उनले भने ।
बाँदरझुलाबासीलाई जंगली जनावरको खतरा भए योजना बनाएर मात्रै व्यवस्थित किसिमले स्थानान्तरण गर्नुपर्ने उनले बताए । ‘यहाँ जंगली जनावरको खतरा छ भने जनताको ज्यान जोगाउने जिम्मा सरकारको हो । तर, व्यवस्थित गर्ने नाममा यहाँ खाली गर्ने मात्रै उद्धेश्य लिएर अन्त लगेर फाल्ने कुरामा हाम्रो समर्थन छैन । व्यवस्थित किसिमले लैजानका लागि योजना बन्नुपर्छ । चुनावमा चार दिन चार मिनेट कराएर हुने कुरा होइन’, उनले भने ।
हात्ती परिचालन गर्ने र आगो लगाएर आतंकित पारेपछि भाग्छन् भन्ने सोँच राख्नु पनि गलत भएको उनले बताए । त्यस्तै, उनले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि भूमि आयोगमा पार्टीका नेता कार्यकर्ता भर्ती गर्न नहुने बताए । ‘बच्चालाई चकलेट दिए जसरी भोट माग्न म जीवनमा आउँदिन’, उनले भने ।