धनगढी, भदौँ ०१-
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ७ कालापानीमा शौचालयको सेप्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हात्तीलाई गणेशको रुपमा पूजाआजा गरेर हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । खाल्डो माथि मृतक हात्तीलाई राखेपछि हात्तीसार शाखा पिपरियाका निमित्त प्रमुख शिवदत्त चौधरीले सेतो कपडाले ओढाइदिए पुजा गरेर दाहासंस्कार गरिएको हो । उनले फुल, रातो अबिर, अक्षता र पैसा चढाएर पूजाआजा गरेका थिए । धूप , बत्ती बालेर हात्तीको टाउको माथि घुमाएर मन्त्रो चरण समेत गरेका थिए ।
‘हात्तीको अन्तिम संस्कारमा सहभागी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी, स्थानीय बासिन्दा लगायतकाले फुल, अबिर र रुपैया चढाएर अन्तिम बिदाइ गरे।‘ गणेश भगवानका रुपमा पुजिने हात्तीलाई मृत्यु भएपछि गणेश भगवानको रुपमा पूजाआजा गरेर अन्तिम संस्कार गर्ने हाम्रो परम्परा रहेको उनले बताए । ३२ वर्ष देखि हात्तीसार शाखामा कार्यरत चौधरीले पुराना मान्छेहरूबाट यो अन्तिम संस्कार गर्ने विधि सिकेको बताए । चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिनिकुन्जमा गरेर उनले ६ हात्तीको अन्तिम संस्कार गरेका छन् । आफूले पालेका हात्तीको मृत्यु हुदाँ नुन र एक छाक खाना समेत खान छोड्ने गरेको उनले बताए।
हात्तीको अन्तिम संस्कार गर्ने क्रममा खाल्डोमा ३ वोरा नुन पनि हालेको उनले बताए। शुक्लाफाँटामा मृत्यु भएको जंगली पोथी हात्ती हो। करिब ३५ वर्षको वयस्क उमेरको पोथी हात्ती जैविक मार्ग नजिकै चर्न गएको क्रममा बुधवार राती सेप्टी ट्याङ्कीमा खसेर मृत्यु भएको थियो। शुक्लाफाँटा नगरपालिका वडा नं ७ वातावरण मध्यवर्ती सामुदायिक बनको भवनको शौचालयको सेप्टी टयांकीमा खसेको ठाउँबाट निकालेर बनमै नजिकै छेउमा हात्तीको अन्तिम संस्कार गरिएको हो।