चितवन, साउन ३१-
नारायणी पुलबाट हामफालेर मंगलबार राती एक पुरुष बेपत्ता भएका छन् । प्रत्यक्षदर्शी एक महिलाले राती ८ः२० बजेको समयमा एक पुरुषले पुलबाट हामफालेको भनि प्रहरीलाई खबर गरेकी थिइन् ।
नदीमा हामफालेको भनिएका पुरुषले पुलमा केहि सामान नछाडेको र पुलमा सिसि क्यामरा पनि नहुँदा पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ । आफ्नो मान्छे बेपत्ता भएको भनि प्रहरीमा निवेदन पनि नपरेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक गोपाल पौडेलले बताए ।
नामथर वतन नखुलेको सेतो कपडा लगाएको अन्दाजी २६ वर्षको पुरुषले पुलबाट हामफालेको भनि ती महिलाले खबर गरेको पौडेलले बताए । ‘अटोमा सवार महिलाले एक पुरुषले पुलबाट हामफालेको बताउनु भएको थियो । हामीले राती नै नदीको छेउछाउ हे¥यौँ, भेटिएन’, उनले भने, ‘पुलमा चप्पलसप्पल, व्याग केहि भेटिएन ।’
पुलमा सिसि क्यामरा नहुँदा हाम फाले नफालेको यकिन गर्न पनि समस्या भएको उनी बताउँछन् । ‘पुलमा एउटा क्यामरा मात्रै राखेर सबै देख्न सकिँदैन । भरतपुर र गैंडाकोटतर्फ पुलको मुखमा र पुलको बीचतिर पनि राख्यो भने बल्ल स्पष्ट देख्न सकिन्छ’, उनी भन्छन्, ‘म यहाँ आएदेखि पुलमा स्पष्ट देखिने सिसि क्यामरा छैन ।’