भरतपुर,साउन ११-
चितवनमा सुनचाँदीको कारोबारमा मन्दी आएको व्यवसायीले बताएका छन् । अन्य क्षेत्रमा जस्तै सुनको व्यापार पनि ठप्प भएको व्यवसायीले बताएका हुन् । सामान्य दिनहरुमा दैनिक तीन केजीसम्म सुनको कारोबार हुनेगरेको अहिले एक केजी पनि विक्री नभएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष यम बहादुर विकले बताउनुभयो । उहाँका अनुसार जिल्लामा अहिले सुन किन्नेभन्दा विक्री गर्नेको संख्या बढि छ ।
‘अहिले उपभोक्ताहरु किन्न १० प्रतिशत आउने गरेका छन् भने विक्रीका लागि ९० प्रतिशत आउने गरेका छन्,उहाँले भन्नुभयो,‘आउनेमध्ये अधिकांस बैकको क्रृण तिर्ने प्रयोजनका लागि आउने गर्नुभएको छ ।’ उहाँले अन्य व्यवसायहरु ठप्प हुँदा सुनचाँदी व्यवसायमा समेत असर परेको उहाँले बताउनुभयो ।
सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष ज्ञानेन्द्रमान शाक्यले अहिले सुनचाँदी व्यवसायमा ७५ प्रतिशतले गिरावट आएको बताउनुभयो । उहाँले कर्मचारीलाई समेत तलब खुवाउन कठिन भएको बताउनुभयो । ‘अहिले सुनको मूल्य पनि बढेको छ,उहाँले भन्नुभयो,मानिसमा पैसा पनि छैन,त्यसको असर अहिले सुनमा देखिएको छ ।’
चितवनमा सुनचाँदी व्यवसाय धरापमा पर्दै गएपछि केही पसलहरु बन्द समेत भएका छन् । १६ बर्षदेखि सुनचाँदी व्यवसाय गर्दै आउनुभएका सुदिप सुनारले पसल बेचेर विदेश जाने तयारीमा रहेको बताउनुभयो । उहाँले व्यपार नहुँदा बैंकको व्याजदर तिर्न नसकेपछि पसल बन्द गरेको जानकारी दिनुभयो । उहाँले बैंकको चर्को व्याजदर र घरभाडाका कारण व्यवसाय गर्न सक्ने अवस्था नरहेको गुनासो गर्नुभयो । चितवनमा झण्डै छ सय सुनचाँदी व्यवसायी छन् । उनिहरुमध्ये १५ प्रतिशतको हाराहारीमा व्यवसाय बन्द भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।बिहिबार सुनको कारोबार मूल्य एक लाख १३ हजार पाँच सय रहेको छ ।