विराटनगर, असार २७–
विराटनगरमा साइकलमा सवार मजदुरलाई मुक्का हानेर सडकमा घिसार्ने आयुष भेटवाल विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको छ ।
साइकल चालकले नहेरी बाटो काटेको झ्वाँकमा विराटनगर–१९ का भेटवालले मजदुरलाई मुक्काले हानेर लडाएपछि सडकमा दुवै खुट्टा समातेर तानेका थिए । घटना असार १९ गते साँझको भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले बाटो काट्दा नहेरी बाटो काटेको रिसमा आयुषले बाटो काट्ने साइकलमा सवार विराटनगर ४ का पवन साहलाई कुटपिट गरेको जनाएको छ ।
‘पुरानो रिसीइवी र चिनजान केही पनि देखिएन’ मोरङ प्रहरीका प्रवक्ता रञ्जन कुमार दाहालले भने, ‘एयर फोन लगार हिँडेका साहले हर्न बजाउँदा पनि नसुनेपछि भेटवालले मुक्का प्रहार गर्दै सडकमा लडेपछि घिसारेको बयानका क्रममा बताएका छन् ।’
अमानवीय तवरले कुटपिट गरेको अभियोगमा भेटवाल विरुद्ध जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । घटना भएका बेला कारमा सवार अन्य दुई जना विरुद्ध पनि मुद्दा चलाइएको छ । तर उनीहरू फरार छन् ।
भेट्नुवाल कलेज पढ्ने विद्यार्थी हुन् । साह भने ज्याला मजदुरी गर्दै आएका छन् । दाहालले भने, ‘यस अघि पुरानो भेटघाट र रिसीइवी भएको देखिन्न । नहेरी बाटो काटेको रिसमा भेटवालले कुटेपछि कारमा सवार अन्य दुई जनाले पनि कुटपिटमा सहयोग गरेको देखिएको छ ।’
भेटवाललाई घटना भएको १० घण्टापछि प्रहरीले घरैबाट नियन्त्रणमा लिइएको दाहालले बताए ।



