चितवन, असार १३–
वडा प्रहरी कार्यालय नारायणगढले प्रतिनिधि सभाको उपनिर्वाचनमा चितवन २ बाट उम्मेदवार बनेका सुवास परियारसहित दुई जनालाई लागुऔषध सम्बन्धि कसुरमा पक्राउ गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–२ घर भई हाल चितवन भरतपुर महानगरपालिका–२ बस्ने ३२ वर्षीय परियार र गोरखा नगरपालिका–४ बस्ने २० वर्षीय सन्त बहादुर अधिकारीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
अधिकारीको साथबाट नुर्फिन २८ एम्पुल, डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल गरी जम्मा ८४ एम्पुल र परियारको साथबाट डाईजेपाम ७ एम्पुल, नुर्फिन ९ एम्पुल, फिनार्गन ११ एम्पुल गरि जम्मा २७ एम्पुल लागुऔषध बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
पक्राउ पर्नेहरु माथि चितवन जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
गएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै चुनाव लडेका स्वतन्त्र उम्मेदवार परियारले ११ मत ल्याएका थिए । चुनाव चिह्न डोजर लिएका उनले आफ्नै परिवारको मत समेत नपाएको भन्दै भाइरल भएका थिए ।



