गैँडाकोट । नवलपुरको गैँडाकोटमा चलिरहेको गैँडाकोट दोस्रो मेयर कप नगरस्तरीय फुटवल प्रतियोगिताको उपाधीको लागि आज गैँडाकोट नगरपालिका वडा नं. १० र गैँडाकोट नगरपालिका वडा नं. १४ प्रतिष्पर्धा गर्दैछन् ।
दिउसो २ वजे गैँडाकोट स्थित निर्माणाधीन क्षेत्रीय रंगशालाको खेल मैदानमा हुने प्रतियोगिातमा यी दुुई समूह उपाधी रक्षाका लागि भिड्ने आयोजक गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ जारी नगरस्तरीय मेयरकप फुटवलमा नगरका १८ वटै वडाका २३ वर्ष मुनिका प्रतियोगीहरु सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने समूहलाई ३५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी खेल अवधिभर उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।गैँडाकोट नगरपालिकाको प्रर्वद्धनमा हुन लागेको प्रतियोगिताको नगर युवा सञ्जाल गैँडाकोटले समन्वय गरेको छ भने सहयोगी संस्थामा गैँडाकोट ४,५ र ८ युवाक्लव रहेको छ ।