गैँडाकोट ।
नवलपुरको गैँडाकोटमा जारी गैँडाकोट दोस्रो नगरस्तरीय मेयरकप फुटवलको सोमबार सम्पन्न खेलमा गैँडाकोट वडा नं. १०,गैँडाकोट वडा नं. ७ र गैँडाकोट वडा नं. १४ विजयी भएका छन् ।
विहान सम्पन्न पहिलो खेलमा गैँडाकोट वडा नं. १२ लाई शुन्यका विरुद्ध १ गोल गर्दै गैँडाकोट वडा नं. १० को समूह विजयी भयो भने दिउसो बजे भएको दोस्रो खेलमा वडा नं. ८ लाई १ का विरुद्ध ४ गोलले पाखा लगाउदै वडा नं. ७ विजयी भयो । खेलको सुरुवात देखिनै वडा नं. ७ का खेलाडीहरुले आक्रामक खेल प्रस्तुत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आजै सम्पन्न तेस्रो तथा अन्तिम खेलमा वडा नं. १४ विजयी भयो । वडा नं. ९ लाई शुन्यका विरुद्ध ३ गोल गर्न सफल भयो । सुरुवात देखिनै वडा नं. ९ लाई दवावमा राख्न सफल भएका वडा नं. १४ का खेलाडीहरुले खाता समेत खोल्न दिएनन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार २ खेलहरु हुँदैछन् । विहान ८ वजे हुने पहिलो खेलमा गैँडाकोट वडा नं. ५ र १७ विच भिडन्त हुनेछ भने दोस्रो खेलमा दिउसो २ वजे गैँडाकोट वडा नं. १ र वडा नं. ३ भिड्नेछन् ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ जारी नगरस्तरीय मेयरकप फुटवलमा नगरका १८ वटै वडाका २३ वर्ष मुनिका प्रतियोगीहरु सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने समूहलाई ३५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी खेल अवधिभर उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।गैँडाकोट नगरपालिकाको प्रर्वद्धनमा हुन लागेको प्रतियोगिताको नगर युवा सञ्जाल गैँडाकोटले समन्वय गरेको छ भने सहयोगी संस्थामा गैँडाकोट ४,५ र ८ युवाक्लव रहेको छ ।



