गैँडाकोट ।
नवलपुरको गैँडाकोटमा चलिरहेको गैँडाकोट दोस्रो मेयर कप नगरस्तरीय फुटवल प्रतियोगितामा आइतबार सम्पन्न २ खेलमा गैँडाकोट नगरपालिका वडा नं. ७ र गैँडाकोट नगरपालिका वडा नं. १ विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज विहान सम्पन्न पहिलो खेलमा वडा नं. २ लाई शुन्यका विरुद्ध ५ गोलले हराउदै गैँडाकोट वडा नं ७ विजयी भएको आयोजकले जनाएको छ ।
त्यसैगरी आइतबार नै भएको दोस्रो खेलमा गैँडाकोट एक विजयी भएको छ । वडा नं १५ लाई पाखा लगाउदै वडा नं १ विजयी भएकाे हाे ।तोकिएको समयावधीमा दुवै समूहबाट ३ /३ गोल भएपछि खेल पेनाल्टी तर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा पनि दुवै समूहले ३ /३ गोल गरेपछि खेल थप रोमाञ्चक हुन पुग्यो । त्यसपछि भएको सडन डेथ मेथडमा वडा नं १५ लाई २ का विरुद्ध ३ गोल गर्दै गैँडाकोट वडा नं. १ विजयी भएको गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ जारी नगरस्तरीय मेयरकप फुटवलमा नगरका १८ वटै वडाका २३ वर्ष मुनिका प्रतियोगीहरु सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने समूहलाई ३५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी खेल अवधिभर उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । गैँडाकोट नगरपालिकाको प्रर्वद्धनमा हुन लागेको प्रतियोगिताको नगर युवा सञ्जाल गैँडाकोटले समन्वय गरेको छ भने सहयोगी संस्थामा गैँडाकोट ४,५ र ८ युवाक्लव रहेको छ ।