गैँडाकोट । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ नवलपुरको गैँडाकोटमा दोस्रो गैँडाकोट मेयरकप नगरस्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । गैँडाकोट खेलकुद समितिको आयोजनामा चैत्र १८ गतेदेखि प्रतियोगिता सुरु हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गैँडाकोट क्षेत्रीय रंगशालाकाे खेलमैदानमा आयोजना हुने प्रतियोगितामा नगरका १८ वटै वडाका २३ वर्ष मुनिका प्रतियोगीहरु सहभागि हुने गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने समूहलाई ३५ हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी खेल अवधीभर उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।गैँडाकोट नगरपालिकाको प्रर्वद्धनमा हुन लागेको प्रतियोगिताको नगर युवा सञ्जाल गैँडाकोटले समन्वय गरेको छ भने सहयोगी संस्थामा गैँडाकोट ४,५ र ८ युवाक्लव रहेको छ ।
गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षता तथा गैँडाकोट नगरपालिका वडा नं. ४ का अध्यक्ष तेजप्रसाद घिमिरेको प्रमुुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष रमेश तिवारी, कोषाध्यक्ष गजेन्द्र बन, सदस्यहरु गौरवभक्त अधिकारी, झलक बहादुर राना लगायतको उपस्थिति रहेको थियो ।