नवलपुर ।
नवलपुरको गैँडाकोटमा आइतबारदेखि सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को मंगलबार १० हजार बढी दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लिलाबहादुर अधिकारीकाअनुसार मंगलकार होली पर्व परेकाले दर्शकहरुको राम्रो उपस्थिति रहेको थियो ।
मंगलबार मेलाको सांस्कृतिक कार्यक्रमलाई होली धमाका नाम दिएर चर्चित कलाकारको प्रस्तुती रहेका कारण पनि मेलामा दर्शकहरुको राम्रो उपस्थिति रहेको अधिकारीको भनाइ छ । बुधबार पनि मेलामा दर्शकहरुको राम्रो उपस्थिति हुने आयोजकले अनुमान गरेको छ । औद्योगिक व्यापार मेला जिल्लाको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा चैत १ गतेसम्म सञ्चालन हुनेछ । x
मेलाको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष अमृत भट्टचनले मेलामा हस्तकला, कृषि, पुष्प, अटो, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टल रहेको जानकारी दिए । प्रदेशको कान्छो जिल्ला नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य राखेका कारण नवलपुरमा प्रदेशस्तरीय औद्योगिक मेला राखिएको उनको भनाइ छ । ‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय : समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको मेलामा करिब रु १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । एक लाखले अवलोकन गर्ने अनुमान गरिएको मेलाको प्रवेशका लागि सर्वसाधारलाई रु ८० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको छ ।