प्रणय दिवसको अवसर पारेर पर्यटकीय नगरी चितवनको सौराहामा आजबाट ‘खाना महोत्सव’ सुरु भएको छ ।रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) सौराहाले तीन दिन फुड फेस्टिवलकाे आयोजना गरेको हो। हरेक वर्ष रेवानले गर्दै आएकाे फेस्टिवलकाे याे १७ औं संस्करण हाे।
फागुन २ गतेसम्म चल्ने फेस्टिवल आज सुरू हुनुअघि विभिन्न संघ, संस्था र समुदायको झाँकी निकालिएको थियो। फेस्टिवलले सौराहामा पर्यटक भित्र्याउन सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वन र वन्यजन्तुको अवलोकन गर्न आउने पर्यटकका लागि विश्वमै चर्चित गन्तव्य हो। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष फेष्टिवल आयोजना गर्ने गरेको फेस्टिवलका संयोजक ध्रुव गिरीले बताए।
सडकमै खाऔं, सडकमै रमाऔ’ भन्ने नाराका साथ हात्तीचोकदेखि राप्ती ड्याकसम्म र मल्लुचोकदेखि गैंडाचोकसम्मको बजार क्षेत्रमा व्यवसायीहरूले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्किने सयोंजक गिरीले बताएका छन्।
महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शनका साथै सौराहालाई पर्यटकिय गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने उहाँले बताउनुभयो।