चितवन । भरतपुर–४ धर्मचोकस्थित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्)को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ माघ २१ देखि फागुन ६ गतेसम्म चल्ने श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ को तयारी कार्य पूरा भएको छ ।
महायज्ञको भोलि साधुसन्त–महात्मा, विद्वानहरूको पावन उपस्थितिमा वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले उद्घाटन गर्ने आयोजकले जनाएको छ।
उद्घाटनअघि भोलि बिहान १० बजेदेखि पन्चै बाजा, भजनकीर्तन, लीला–झाँकीसहित विशाल शोभायात्रा हुने कार्यक्रम रहेको शोभायात्रा संयोजक लक्ष्मी रिजाल सापकोटाले बताउनुभयो।
गुरुकुलका प्रधान संरक्षक स्वामी जगन्नाथाचार्यको संकल्पमा हुने महायज्ञको पहिलो चरणअन्तर्गत माघ २२ देखि २८ सम्म प्रसिद्ध कथावाचिका यशोदादेवी कौण्डिन्य एवम् दोस्रो चरण माघ २९ देखि फागुन ६ सम्म अन्तराष्ट्रिय ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजले प्रवचन गर्ने कार्यक्रम रहेको संयोजक तुलसीराम सापकोटाले बताउनुभयो।
यसैबीच महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा आज बृहत् मोटर साइकल र्याली सम्पन्न भएको छ । महायज्ञस्थल गुरुकुल परिसरबाट निक्लेको र्याली धर्मचोक , वैदिकनगर, कटहर चोक, बुद्धचोक, मालिका मन्दिरचोक, शरद्पुर, गौरीगन्ज, यज्ञपुरी, हरिकीर्तन चोक, अद्वैतचोक, धारापानीचोक हुँदै महायज्ञस्थलमा आएर टुंगिएको थियो।
र्यालीमा ५०० मोटर साइकलहरू सहभागी भएको मोटर साइकल र्याली संयोजक डा। गोपीनाथ कँडेलले बताउनुभयो ।



