नारायणगढ –
नारायणगढमा सम्पन्न मैत्रीपुर्ण फुटसलमा विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था विजयी भएको छ । आज (सोमबार) क्षेत्रपुर फुटसल एरेनामा भएको खेलमा विश्वकर्मा साकोसले सुनचाँदी बचत तथा ऋण सहकारी संस्थालाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा विश्वकर्मा साकोस ४-३ ले विजयी भयो ।
विजेता विश्वकर्मा साकोसले नगदसहित शिल्ड प्राप्त गरेको छ । मैत्रीपुर्ण फुटसलमा ६ टोली सहभागी थिए । यस्तै आजै सम्पन्न मैत्रीपुर्ण भेटेरान फुटसलमा सुनचाँदी साकोस विजयी भएको छ । सुनचाँदी साकोसले विश्वकर्मा साकोसलाई २-१ ले पराजित गरेको हो ।
भेटेरानको विजयी टोलीले पनि नगदसहित शिल्ड प्राप्त गरेको छ । विजयी टोलीहरुलाई सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं मिलनरोड टोल सुधार समितिका अध्यक्ष चित्रबहादुर खाती विश्वकर्माले पुरस्कार वितरण गरे । दिगो सहकारी संस्थाका लागि स्वस्थ शेयर सदस्य भन्ने नारासहित मैत्रीपुर्ण फुटसल आयोजना गरिएको हो । सहकारी सञ्चालक र कर्मचारीहरुको स्वास्थ्य तथा सम्बन्ध मजबुद बनाउन मैत्रीपुर्ण फुटसल आयोजना गरिएको सुनचाँदी साकोसका अध्यक्ष रुविन रामुदामुले बताए ।