गैँडाकोट,माघ ९–
श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले कोटीहोमस्थल गैंडाकोट–१०, पितौजीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ गर्दैछ । आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागिएको हो ।
यही माघ २३ गतेदेखि फागुन १ गतेसम्म कोटीहोम आश्रमको प्रागंणमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलको प्रमुखवाचकत्वमा महायज्ञ हुने आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) ले जानकारी दिए ।
वैदिक सनातन धर्म संस्कार, संस्कृति र सभ्यताका अनुसन्धाता ब्रह्मलीन योगी नरहरिनाथले विश्वशान्ति हेतु वि.सं. २०४५ सालमा कोटीहोम महायज्ञ लगाएको यस पवित्र स्थलमा महायज्ञ गर्न लागिएको आश्रमका पीठाधीश योगी खेचरनाथले बताए । उनले महायज्ञमा ५ करोड रुपैयाँसम्म आम्दानी र ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको बताए ।
कोटीहोम आश्रम स्थल, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, पर्यटकीय, ऐतिहासिक एवं संस्कृत शिक्षामैत्री सामाजिक सम्भावनाले भरिपूर्ण रहेको बताउँदै आयोजक समितिका महासचिव नरहरि सापकोटाले त्यसका लागि सबै जुट्नुपर्ने बताए ।
सप्ताह ज्ञानमयज्ञको महिमा र आश्रमको सङ्कल्प पूरा गर्न सबैलाई सहयोग गर्न प्रचार–प्रसार उपसमितिका संयोजक देविदत्त कण्डेलले आग्रह गरे । पत्रकार सम्मेलनमा उपस्थित पूर्व प्रतिनिधि सभा सदस्य सत्य नारायण खनालले २०५५ सालमा आफु सुकुम्बासी आयोगको जिल्ला अध्यक्ष हुँदा धार्मिक वन बनाउन सफल भएको स्मरण गराए ।
गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसिले विगत सम्झदै कोटीहोमले गुरुकुल सञ्चालन लगायतका कार्यमा फड्को मारेको बताए । पत्रकार सम्मेलनमा गैँडाकोटका नगर प्रमुख मदनभक्त अधिकारी, उप प्रमुख शान्ति कोइराला लगायत ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदी, १२ का वडा अध्यक्ष चक्रपाणी कँडेल लगायतको उपस्थिती रहेको थियो ।
करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक वन क्षेत्रमा कोटिहोम रहेको छ । यहाँ रहेको श्री योगि नरहरिनाथ आध्यात्म विज्ञान गितापाठशाला (योगी नरहरिनाथ संस्कृत विद्यापिठम्) मा समावेशी २४ जना बटुक आश्रीत छन् । आवासीय रूपमा उनिहरुलाई संस्कृत शिक्षा र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको छ ।
कक्षा ६ र ७ मा अध्ययनरत उनिहरुको शिक्षादिक्षा समेत समाजबाट उठेक सिदा वा उत्सवमा आउने भोजनबाट भरणपोषण चल्दै आएको छ । यहाँ ६ जना शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझि, ठकुरी, क्षेत्री समुदायका रहेका छन् । श्री सिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन–पाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको छ ।
यहाँ धेरै अगाडिदेखि सञ्चालनमा रहदै आएको दुर्गाभगवती, गणेश, शिव आदि आराध्य देव–देवीहरूको पूजा–अर्चना हुँदै आएको छ । यहाँ करिब डेढ अर्ब लागतको गुरु योजना निर्माण गरिएको छ । स्थानीय, प्रदेश र संघीय सरकार समक्ष आश्रमले सहयोगका लागि योजना समेत पेश गरेको छ ।



