भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनको नेपाली नागरिकता अवैध रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उजुरी परेपछि मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले लामिछानेलाई स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरणको जवाफ दिन सात दिनको म्याद दिइएकोमा उनले अन्तिम दिन मंगलबार खाम सिलबन्दी गरी जवाफ पेश गरेका हुन् । लामिछानेले उक्त स्पष्टीकरणको जवाफ मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगमा बुझाएका छन् । खाम सिलबन्दी गरी लाहाछाप लगाइएकाले जवाफमा के छ भन्ने कुरा पढ्न नपाएको मुख्य निर्वाचन अधिकृत थापाले बताए ।
‘उहाँ (रवि)ले सिलबन्दी गरेको गोप्य खाम बुझाउनुभएको छ, अब त्यो खाम र उजुरीलाई सँगै राखेर मैले आयोगमा पठाउँछु’, उनले भने, ‘अब आयोगले जे निर्देशन दिन्छ त्यहीअनुसार हुन्छ ।’
लामिछानेले नेपाली नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको आरोपसहित उमेदवारी खारेजीको माग गर्दै उजुरी परेको हो ।