रामेछाप । रामेछाप प्रहरीले खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्रयोग गर्दै आएको सरकारी गाडी नियन्त्रणमा लिएको छ । अध्यक्ष श्रेष्ठ नेकपा एमालेको चुनावी सभामा सरकारी गाडी लिएर पुगेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।
एमालेले बिहीवार साँघुटारमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष श्रेष्ठ आफूले प्रयोग गर्दै आएको बा २ झ ३४१५ नम्बरको सरकारी गाडी लिएर साँघुटार पुगेका थिए । गाउँपालिका अध्यक्षजस्तो मान्छेले आफ्नो पदीय मर्यादालाई कुल्चँदै सरकारी गाडी दुरुपयोग गरेको भन्ने सूचना स्थानीयले प्रहरीमा दिएसँगै साँघुटार बजारबाट त्यो गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुुप्रसाद ढकालले जानकारी दिए । अहिले त्यो गाडी प्रहरी चौकी साँघुुटारमा राखिएको र यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
निर्वाचन आयोगले जनप्रतिनिधिलाई आफ्नो पालिकामा कुनै पनि राजनीतिक दललाई मत माग्न नपाउने र सरकारी गाडी प्रयोग गर्न नपाउने निर्देशन गरेको छ । श्रेष्ठले भने आयोगको निर्देशनलाई बेवास्ता गर्दै आफ्नो पालिका र जिल्लाभर एमालेको चुनावी कार्यक्रममा सरकारी गाडीको दुरुपयोग गर्दै आएका थिए ।