चितवन –
चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत थिङ तमाङले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।निर्वाचनको मिति नजिकिदै गर्दा उनी मतदाताको घर-घर पुगिरहेका छन् । मजदुरलाई राज्यको पहुँचमा पुराउने मुख्य एजेन्डा लिएर उनी लौरो चुनाव चिन्हबाट चुनावी मैदानमा छन् । घरदैलोको क्रममा मतदाताबाट राम्रो प्रतिकृया आईरहेको तामाङले बताए । तामाङले ठूला दलका उम्मेदवारलाई कडा चुनौती दिने दाबी गरे । उनले चितवन २ मा हेभी वेट भिड्न्त भए पनि सबैलाई चुनौती दिने बताए ।
उनले जनताको मन र मतले विजयी हुने विश्वास समेत व्यक्त गरे । ‘लौरोप्रति मतदाताको आकर्षण बढीरहेको छ । ठूला दलका उम्मेदवारहरुलाई लौरोले कडा चुनौती दिन्छ’, उनले भने । हेविवेट उम्मेदवार हुँदा हुँदै तपाईलाई जनताले किन मत दिने भन्ने प्रश्नमा उनले आफ्नो दुर्दर्शी बिकासको भिजन नै जितको आधार भएको बताए । ‘खोइ त ठूला दलका उम्मेदवारले अवसर पाउँदा काम गरेको ? म सँग बिकासको योजना छ । मतदाता बिकास चाहन्छन्’, उनले भने । उनले यहाँको जनताको समस्यासँग आफू परिचित रहेको भन्दै सोही अनुसारको योजना अघि सार्ने बताए ।
उनले जोखिमपूर्ण क्षेत्रमा काम गर्ने मजदुरको अनिवार्य बीमा, दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई रोजगारी, नि:शुल्क स्वास्थ्य शिक्षा र सडक पेटीमा बास बसेर जीविकोपार्जन गर्ने विपन्न गरीबलाई राज्यको पहुँचमा पुर्याउने बताए । व्यवसाय गर्न चाहनेहरुलाई सहज तरिकाले ॠण उपलब्ध गराउने उनको प्रतिवद्धता छ। बढ्दो बेरोजगारी हटाउनका लागि उद्योग र कलकारखाना खोल्न आफूले जोड दिने बताए । उद्योग र कलकारखाना स्थापनापछि रोजगारीका लागि ठूलो संख्यामा युवाहरु विदेशिने क्रम रोकिने उनको भनाइ छ ।
यस्तै युवाहरुलाई आत्मनिर्भर बनाउन रोजगारमूलक कार्यक्रमहरु सञ्चालन गर्ने पनि आफ्नो योजना रहेको उनले सुनाए । उनले भूमिहिन सुकुम्बासीलाई स्थायी बसोबासको व्यवस्था र हरेक क्षेत्रलाई समयानुसार डिजिटलाईज गर्न आफू लागी पर्ने बताए । नारायणी नदीलाई देशकै नमूना पर्यटकीयस्थलको रुपमा बिकास गर्ने योजना आफूसँग रहेको उनले बताए ।