चितवन – भरतपुर महानगरपालिका ११ का किरण बहादुर कुमालले व्यवसाय गर्न बैंकबाट ॠण लिए । हार्डवयर व्यवसाय गर्न उनले सांग्रिला बिकास बैंकबाट २७ लाख रुपैयाँ ॠण लिएका थिए । साबिक भरतपुर महानगरपालिका ४ को कित्ता नम्बर ५४६७ को एक कट्ठा ६ धुर र १३५८ को ६ कट्ठा साँढे नौं धुर जग्गा धितो राखेर लिएको ॠणले उनले व्यवसाय सुरु गरे । तर व्यवसायमा उनी असफल भए । व्यवसाय डुबेपछि उनले बैंकमा धितो राखेको जग्गा फुकुवा गर्न सकेनन् । उनका अनुसार बैंकबाट ॠण लिएको र जग्गा फुकुवा गर्न नसकेको बिषय उनको राम्रै चिनजानमा रहेका गोरखाको साबिक नामजुङ गाबिस ६ का प्रकाश ढकाल र धिरज लामिछानेले थाहा पाए । उनीहरुले कुमाललाई प्रलोभनमा पारे । दुबैले जग्गा बैंकबाट फुकुवा गर्न सहयोग गर्ने प्रलोभन देखाए । कुमाललाई जग्गा फुकुवा गर्न ५० लाख रुपैयाँ दिने र आफ्नो नाममा राजीनामा पास गर्ने र चार वर्षमा मिटर व्याजको हिसाबमा पैसा लिएर जग्गा फिर्ता गर्ने प्रस्ताव राखे । समस्यामा परेका कुमालले विश्वास गरेर उक्त प्रस्ताव स्वीकार गरे । ढकाल र लामिछानेले बैंकको ॠण तिर्न भनी कुमाललाई तत्काल ३० लाख २४ हजार रुपैयाँ दिए । कुमालले ब्याजसहित बैंकलाई २९ लाख रुपैयाँ बुझाएर जग्गा फुकुवा गरी २०६९ मंसिर १९ गते उक्त जग्गा ढकाल र लामिछानेको नाममा राजीनामा पास गरिदिए । जग्गा पास गर्नु अघि उनीहरुले कुमाललाई सात लाख रुपैयाँ दिए । जग्गा पासपछि तीन पटक गरी उनीहरुले कुमाललाई दिएको ॠण ४७ लाख पुर्याए ।
47 लाख ऋण दिएर 5 करोड ब्याज माग्दै मिटर ब्याजी, तराईमा गरिवको उठिबास , Meter Byaji Nepal
ब्याजसहितको ॠण ५५ लाख पुग्नु अघिसम्म ढकाल र लामिछानेले कुमालसँगको सम्बन्ध राम्रै रहेको जस्तो देखाए । ५५ लाख पुगेपछि भने मिटरव्याजी ढकाल र लामिछानेले सताउन थाले । २०७३ सालमा उनीहरुले मिटर व्याज बापतको रकम मागे । पीडित कुमालले भरतपुरको शिवनगरमा श्रीमती रोशनी कुमालको नाममा रहेको तत्कालिन समयमा २० लाख पर्ने साँढे दश धुर जग्गा प्रकाश ढकालकी श्रीमति उषा ढकालको नाममा पास गर्नुका साथै तीन तोला सुनको सिक्री दिए । त्यसपछि पीडकले बारम्बार जग्गा फिर्ता गर्ने बाहानामा पीडितलाई बिभिन्न कागजमा सहिछाप गर्न लगाए । ब्याज बापत जग्गा र तीन तोला सुन दिएकै दिन २०७० साल फागुन १ गते नै लेखिराखेको कागजमा हस्ताक्षर गर्न लगाए । जग्गा फिर्ता गर्ने कागज हो, एक वर्ष भित्र ५५ लाख रुपैयाँ दिएपछि जग्गा फिर्ता गरिदिन्छौ भने । उनले जग्गा फिर्ता पाउने आशमा कुमालले दुई वटा कागजमा सहिछाप गरे । सोही मितिमा ढकालले आफ्नो हकहिस्सामा पर्ने जग्गा सुजन लामिछानेको छोडपत्रका लागि कागज गराए । हाल उक्त जग्गा सुजन लामिछाने र धीरज लामिछानेको संयुक्त नाममा छ ।
कुमालले दृष्टिबन्धक राखेको जग्गा फिर्ता पाएनन् । उल्टै कागजी ॠणको भारीले थलिदै गए । सहिछापपछि उनले वास्तविकता थाहा पाए । उनले सहिछाप गरेको मध्ये एउटामा २०७१ चैत २३ गतेको मिति उल्लेख गरी एक करोड ६९ लाख रुपैयाँ र अर्कोमा २०७३ बैशाख ४ गतेको मिति उल्लेख गरी एक करोड २० लाख रुपैयाँ ॠण लिएको भनी कागज बनाएको पाए पाए । यसपछि उनी छाँगाबाट खसे झै भए । जग्गा फिर्ता गर्दिन माग गर्दै उनी पटक पटक पीडकसम्म पुगे । तर उनीहरुले उल्टै कुमालको ज्यान लिने धम्की दिन्थे । कुमाल ५५ लाख रुपैयाँ स्वीकार्न तयार छन् । ‘मैले ब्याज जोडेर ५५ लाख स्वीकारेको छु । वडा र प्रशासनमा दिएको निवेदनमा पनि त्यही भनेको छु । जग्गा फिर्ता गर्नका लागि पटक-पटक भेट्न गएको थिए । तर मलाई मार्दिन्छु भनेर धम्की दिए’, कुमाल भन्छन् ।
२०७६ सालमा उनले मिटरव्याजीलाई झिकाई पाँउ भनी जिल्ला प्रशासनमा निवेदन दिए । प्रशासनले उनीहरुलाई झिकाए पनि समस्या ज्युँका त्युँ नै रह्यो । अनेक बाहाना बनाएर उनीहरु पन्छिदै गए । पछिल्लो पटक गत असारमा उनीहरुले जग्गा फिर्ता गर्न पाँच करोड मागेको कुमाल बताउँछन् । उनीहरु मध्ये प्रकाश ढकालले आफ्नो ज्वइन सहकारीबाट कुमालले १८ लाख रुपैयाँ लिएको भनी कागज गराएको समेत उनी बताउँछन् । जग्गा फिर्ता हुन्छ भनी सहिछाप गर्न लगाएर पछि सहकारीबाट ॠण लिएको भनी कागज बनाएको उनी बताउँछन् । उक्त सहकारीमा आफुले खाता नै नखोलेको उनी सुनाउँछन् । ‘सहकारीमा खाता नै छैन । कागज छोपेर सहिछाप गर्न लगाएर पैसा निकालेको बनाइएको रहेछ’, उनी भन्छन् । यही कारण उनका छोरा-छोरीले पढ्न पाएका छैनन् । १० वर्षदेखि तीन छोरी र एक छोराको पढाई रोकिएको उनी बताउँछन् । कुमाललाई अहिले बिहान बेलुका छाक टार्न नै धौ धौ परेको छ । पछिल्लो पटक प्रशासनले मिटरव्याजी पीडितहरुलाई पीडकविरुद्ध निवेदन दिन सूचना जारी गरेपछि उनले पनि निवेदन दिएका छन् । आफुले स्वेकारेको ५५ लाख (२०७३ मा जग्गा र सिक्रीमार्फत बुझाएको २३ लाख घटाएर) बुझाएर आफ्नो जग्गा फिर्ता पाउनुपर्ने उनको माग छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मिटरव्याजीहरुले दिएको उजुरीका आधारमा चरणवद्ध रुपमा छलफल भइरहेको बताउँछन् । उनका अनुसार प्रशासनमा मिटरव्याजीविरुद्ध १९ वटा उजुरी परेका छन् । जसमध्ये एउटा उजुरी कुमालको पनि रहेको छ । पहिलो चरणमा छलफलबाट नै सहमति खोज्ने प्रयास भइरहेको उनी बताउँछन् । कुमालले उजुरी दिएका मिटरव्याजीसँग साउन २८, भाद्र २८ र असोज ७ गते तीन चरणमा छलफल भएको थियो । उनीहरुले थप समय मागेकोले समय दिईएको उनको भनाइ छ । छलफलबाट सहमति ननिस्किए प्रहरीमा पठाउने र त्यहा पनि नभए गृह मन्त्रालय पठाईने उनी बताउँछन् ।
47 लाख ऋण दिएर 5 करोड ब्याज माग्दै मिटर ब्याजी, तराईमा गरिवको उठिबास , Meter Byaji Nepal



