साउन २९ पर्वत
घरको आर्थिक अवस्था कमजोर । सानैमा बाबु बिते । आमा मेलापात गरेर परिवारको गर्जो टार्दै आएकी छिन् । १३ वर्षका समिर पौडेल मृगौला बिग्रिएर उपचार गर्दागर्दै अहिले व्लड क्यान्सर भएर पीडित बनेका छन् । स्याङजा जिल्लाको आँधिखोला गाउँपालिका २ चिलाउनेवास निवासी सामान्य परिवारका समिर अहिले पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो उपचारका लागि पुगेका छन् । तर, पौडेल संग उपचार गर्ने रकम नभएर अलपत्र अवस्थामा छन् ।
अस्पतालले समिरको उपचारमा उपचारमा ठूलो रकम चाहिने बताएको छ । अस्पतालमा उपचार गर्ने पैसा नभएपछि अधकल्चो उपचार गरेर समिर हाल पोखरामा माईजु बिना तिवारी संग बस्छन् ।
पैसाको जोहो गरेर उपचार गर्न जाने भनेर उनी माईजुको कोठामा बस्दै आएको बताउँछन् । उनले आफ्नो ज्यान बचाईदिन सबैलाई अपील गरेका छन् । ‘ हामी संग हजार रुपैयाँ पनि साथमा छैन,’ समिरले भने,‘ डाक्टरले शुरुमा दुई लाख रुपैयाँ जति खोजेर ल्याउन भनेको हो ।
उनले थपे,‘ हामी संग यत्रो पैसा भएन,’ कसैले सहयोग गरे उपचार गराउँला भनेर पर्खिरहेका छौँ ।’ पुर्खौली थलो चिलाउनेवासमा घरजग्गा केहि पनि छैन ।
मजदूरी गरेर जिविका चलाउने समिरकी आमा सावित्री शर्मा छोरा विरामी हुँदा ठूलो आपतमा परेको सुनाईन् । पढाईमा अव्वल भएपनि रोग लागेपछि उनले पढाई नै छोड्नुपरेको छ । आमा सावित्री श्रीमानको मृत्यु भएपछि मजदुरी गरेर छोराछोरीको पेट पाल्दै आएकी छिन् । अत्यन्तै गरिव भएकाले सावित्रीले एउटी छोरी लाई हेरचाह केन्द्रको जिम्मा लगाएकी छिन् ।
आमा सावित्रीले रुँदै भनिन्,‘ छोरा रोग शरिरमा फैलिएपछि छटपटिईरहन्छ । मलाई रातदिन निन्द्रा लागेको छैन । अलिअलि रकम कतैबाट सहयोग आएमा छोरालाई बचाउन सक्ने थिएँ । सावित्रीले रकमको जोहो नहुँदा छोरालाई अस्पताल सम्म पनि लान सकिरहेकी छैनन । गरिवको भगवान पनि हुँदा रहेन्छन् सावित्रीले भनिन्,‘ पसलमा मजदुरी काम गरेर छोराछोरी पाल्दै आएकी थिईँ । अहिले मलाई यत्रो ठुलो दैव लाग्यो ।’
समिर पौडेल लाई आफ्नै सन्तान सम्झेर हजुरहरुले सक्दो आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गदैछौँ । उहाँलाई आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।माईजु जुना तिवारी ९८४३४१८४०४



