चितवन, २६ साउन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा जन्मँदै नाईटो नबनी नाईटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको छ । एकदेखि दुई लाख बच्चामध्ये एक जनामा देखिने दुर्लभ समस्याको सफल शल्यक्रिया भएको हो ।

अस्पतालका पेडियाट्रिक सर्जन डा.प्रकृति गिरीको नेतृत्वमा एनेस्थेसिया डा. विमल रानाभाट, डा.प्रिन्स दवाडी, डा. मयंकराज कर्ण सहितको चिकित्सक टोलीले उक्त शल्यक्रिया गरेको हो । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १२ निवासी सरस्वती बस्नेतले भरतपुर अस्पतालमा प्रसुती सेवा लिनु भएको थियो । उहाँबाट जन्मिएको शिशुको दुई घण्टामै चितवन मेडिकल कलेज रिफर गरिएको थियो ।
अस्पताल भर्ना भएको चार दिनपछि गत असार १२ गते पहिलो र त्यसको चार हप्तापछि साउन ९ गते दोस्रो शल्यक्रिया गरिएको थियो । पेडियाट्रिक सर्जन डा.गिरीका अनुसार उक्त शिशुको नाईटोको भाग नबनेको र सोही ठाउँबाट आन्द्रा बाहिर निस्किएको थियो । डा. गिरीले भन्नुभयो “आन्द्रा समेत फुलेको अवस्थामा रहेको यस्तो प्रकृतिका घटना दुर्लभ हुने गर्दछ ।” डा. गिरीका अनुसार एकदेखि दुई लाख शिशुहरुमा मात्रै यस्तो समस्या आउने गर्दछ ।

डा.गिरीले कान्तिपुर हेल्थसँग भन्नुभयो “नाईटो नबेको, आन्द्रा बाहिर आएको र आन्द्रा फुटेको अवस्था लाखौंमा एक जनामा देखिन्छ । यो निकै दुर्लभ समस्या हो ।” उहाँले अगाडि थप्नुभयो “सानो आन्द्रा यसरी फुलेर बस्नु आफैमा दुर्लभ हो ।” यस्तो समस्यालाई ओमफालोसियल (Omphalocele) भनिने उहाँको भनाई छ ।
शिशुको मांसपेशी पूर्ण रुपमा विकास नभएकोले बाहिर निस्किएको आन्द्रा एकै पटक भित्र नअटाउने भएकाले दुई पटक गरेर शल्यक्रिया गर्नु परेको डा. गिरीले बताउनुभयो । उहाँले भन्नु “धेरैजसोमा एउटै शल्यक्रियाले हुन सक्छ । नाईटो नै नभएको, पेटमा प्वाल परेर आन्द्रा बाहिर आएको, प्वाल धेरै साँघुरो र सानो भएकाले बाहिर आएको आन्द्रा कस्सिँदै जान्छ ।” यस्तो अवस्थामा दुई पटक गरेर शल्यक्रिया गर्ने पर्ने डा.गिरीले बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “कस्सिंदै गएर आन्द्रामा रक्तसञ्चार नभएर कालो हुन सक्ने सम्भावना थियो । कतिपय समस्या तुरुन्तै शल्यक्रिया नगरी पनि राख्न सकिन्छ । तर उसको प्वाल धेरै साघुरो भएको हुँदा आन्द्रा फुल्दै गएको थियो । त्यही भएर छिटो शल्यक्रिया गर्नु परेको हो ।”
फुलेको आन्द्राको ८ सेन्टिमिटर काटेर पुनः जोडिएको जानकारी दिंदै डा. गिरीले आन्द्रा अलिअलि निलो भईसकेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “निलो भएको भाग ठीक होस् भनेर सानो आन्द्राको भाग काटेर बाहिर निकालेर राख्यौं । जसमा कृतिम मलद्वार बनाईयो । अर्थात् त्यहीबाट दिसा बाहिर निस्कने गरी व्यवस्था गरियो । जसले गर्दा जोडेको आन्द्रा छिटो निको हुने पाओस् भनेर यस्तो गरियो ।”

दोस्रो शल्यक्रियामा बाहिर निकालेर राखिएको कृतिम मद्वार सहितको आन्द्रालाई भित्र जोडेर राखिएको डा. गिरीले बताउनुभयो । नाईटो समेत नबनेको उक्त शिशुको नाईटो बनाईएको छ । ४२ दिन अस्पतालमा राखेर उपचारपछि उक्त शिशु अहिले डिस्चार्ज भईसकेका छन् । अहिले शिशुको स्वास्थ्य राम्रो रहेको डा. गिरीले बताउनुभयो ।
डा. गिरीको नेतृत्वमा अस्पतालमा आन्द्रा केही भाग नबनेको (Jejunal Atresia) मलद्वार नै नभएका (Anorectal Malformation) जस्ता समस्याको सफल शल्यक्रिया भएका छन् । यस्तै हर्निया अड्केर आएका (Obstructed inguinal hernia), आन्द्रामा आन्द्रा खटिप्टएको जस्ता समस्याहरुको पनि सफल शल्यक्रिया भएका छन् । आन्द्रामा आन्द्रा खप्टिएको समस्याको शल्यक्रिया बिना भिडियो एक्सरेको माध्यमबाट पानीको माध्यमले फुटाएर उपचार गरिएको डा. गिरीले कान्तिपुर हेल्थलाई जानकारी दिनुभयो ।

नवजात शिशुदेखि १४ वर्ष मुनिका बालबालिकाको शल्यक्रिया संवेदनशील हुने गर्दछ । त्यसैले यस्ता बालबालिकाको शल्यक्रिया पेडियाट्रिक सर्जनबाटै गराउनु उत्तम हुने चिकित्सकहरु बताउँछन् । पेडियाट्रिक सर्जनलाई बच्चाको साना साना अंग, तन्तु, नसाहरुबारेमा राम्रो ज्ञान हुने हुँदा बालबालिकाको शल्यक्रिया पेडियाट्रिक सर्जनकहाँ गराउँदा राम्रो उनीहरुको भनाई छ । जति सानो बच्चा भयो त्यति जटिल शल्यक्रिया हुने हुँदा बच्चाको शल्यक्रिया गर्दा साना साना अंगहरु चिन्नु पर्ने र शल्यक्रिया गर्दा सानो कुनै अंग यताउति भयो भने त्यसले जीवनभर काम नगर्ने हुन सक्नेउनीहरुको भनाई छ ।



