चितवन — नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै माैरी पुलमा पहिराे जाँदा शुक्रबार रातिदेखि नै सडक अवरूद्ध भएकाे छ ।
राति दुई बजेतिर लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
माैरी पुलमा साेमबार रातिदेखि पहिराेका कारण दिनदिनैजसाे बाटाे बन्द हुने गरेकाे छ ।
उक्त पुलभन्दा तीन सय मिटर पर रहेकाे डाँडा चिराचिरा परेर खाेल्सामा पहिराे खसेकाे छ ।
वर्षा भएपछि खाेल्सामा थुप्रिएकाे माटाे‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ माैरी पुलमा बाटाे बन्द हुने समस्या देखिएको छ ।
संघीय राजधानी काठमाडाैंलाई जाेड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयाैं सवारी र यात्रु अलपत्र पर्ने गर्छन् ।




