म्याग्दी — मंगलबार बिहान मालिका- २ रुमको घाङलेपानीको पहिरोमा परी घाइते भएकी ६७ वर्षीया गोरी विक र उनका ६२ वर्षीय श्रीमान गोठे विकलाई ३७ घन्टापछि अस्पताल पुर्याइएको छ ।
बुधबार मध्याह्न मौसम सफा भएपछि स्थानीयले ५ घन्टा लामो घुमाउरो बाटो घाइतेलाई स्ट्रेचरमा बोकेर मालिका गाउँपालिका मुकाम दरवाङको घुमाउने पहिरोसम्म ल्याएका थिए । प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाका अनुसार दरवाङको घुमाउने पहिरोबाट सदरमुकामबाट पठाएको एम्बुलेन्सले उद्धार गरी घाइतेलाई साँझ ५ बजे बेनी अस्पताल ल्याइ पुर्याइएको हो ।
‘खराब मौसमका कारण मंगलबार हेलिकप्टरबाट घाइतेको उद्धार गर्न नसकिएको र बुधबार स्ट्रेचरमा राखेर ल्याउन थालेको खबर पाएपछि गाडी पुग्ने स्थानसम्म एम्बुलेन्स पठाएका हौं,’ प्रजिअ रानाले भने, ‘वृद्धाको छातीमा गहिरो चोट भएकोले थप उपचारका लागि पोखरा रेफर गर्नु भएको छ ।’
बेनी अस्पतालले घाइते वृद्धा गोरीको छातीमा गहिरो चोट भएकाले करङ भाँचिएको र रगत जमेको देखिएकोले थप उपचारका लागि पोखरा रेफर गरेको छ । अर्का घाइते गोठे विकको भने एक्सरे गरी स्वास्थ्य परीक्षण भइरहेको छ ।
अस्पतालले घाइतेलाई पोखरा लैजान भने पनि आफन्तले पोखरामा लैजान उपचार खर्च नभएको र राति पोखरा अस्पतालमा अलपत्र परिने भयले रातभर आर्थिक व्यवस्थापन गरी बिहीबार बिहान मात्र लैजाने बताएका छन् ।
घरको सबै पहिरोले लग्यो । बाँचेका बाजेबजैलाई जसोतसो गाउँलेको सहयोगमा अस्पताल ल्यायौं । पोखरा पुग्नु पर्ला भन्ने भएन । पैसाको कुनै जोहो नभएकाले राति अस्पतालमा अलपत्र पर्नुभन्दा रातभर आफन्तसँग हारगुहार गरी उपचार खर्च जोडेर भोलि बिहान जान्छौं,’ घाइतेका नाति सन्तोष बराइलीले भने, ‘सहरमा पैसा नभइ कसले उपचार गरिदिएला र ?’
मंगलबार बिहान ४ बजे मालिका गाउँपालिका २ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर एकै परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमति राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको थियो ।




