अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी भिसा आवेदकलाई ७ कागजातसहित अन्तरवार्तामा आउन सुझाव दिएको छ । विद्यार्थी भिसालाई प्राथमिकतामा राखेको दूतावासले विभिन्न ७ कागजातसहित अन्तरवार्तामा आउन सुझाव दिएको हो ।
पासपोर्ट, अप्वाइन्टमेन्ट कन्फर्मेशन, आवेदकले हस्ताक्षर गरेको आई २० फर्म वा डीएस २०१९, सेभिज शुल्क तिरेको रिसिप्ट, पछिल्ला शैक्षिक प्रमाणपत्रहरु, दुईप्रति ६ महिनाभित्रको पासपोर्ट २ २ तस्वीर र डीएस १६० कन्फर्मेशन पेजसहित भिसा अन्तरवार्तामा आउन सुझाव दिइएको छ ।
सामान्यतया आइतबार दूतावास बन्द हुने भएतापनि विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवशरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर गत जुलाई १७ मा आइतबार समेत भिसा अन्तरवार्ताहरु लिइएको थियो । अमेरिकी दूतावास काठमाडौंमा भिसाको अप्वाइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गरेको जनाएको थियो । सुरुमा अप्वाइन्ट लिन चाहनेहरु र पछिको अप्वाइन्टमेन्ट अगाडि सार्न चाहनेहरुलाई पनि यो अवशर प्रदान गरिएको थियो ।
कोरोना महामारीपछि अमेरिकी दूतावासहरुले नियमित भिसाहरु सुचारु गरेपनि अप्वाइन्टमेन्ट पाउन भने निकै मुस्किल हुने गरेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिजिटर भिसाको अप्वाइन्टमेन्ट पाउन गत महिना औषतमा २७४ दिन लाग्ने गरेकोमा अहिले यो अवधि बढेर ४३६ दिन पुगेको छ । यो सप्ताहन्त र विदा सहितका दिन गणना गरेर निकालिएको औषत अवधि हो ।