काठमाण्डौ । पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले भोलीदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन सहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा भोली देखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख छ ।
यस्तै, २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने पनि जनाइएको छ । यसका साथै, २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड र अनलोड नगर्ने उनीहरूले चेतावनी दिएका छन् ।
हालको ढुवानी भाडाबाट ट्यांकर सञ्चालन गर्न नसकिने महासंघको भनाइ छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्यांक उपलब्ध गराउने समेत महासंघद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।



