लामो समयदेखि अस्ट्रेलियाली कलेजमा भर्ना भएर बसेका धेरै नेपाली विद्यार्थीको भिजा ‘रिजेक्ट’ (अस्वीकृत) भएको खबर आउन थालेको छ । नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका मुलुकका विद्यार्थीहरू रहेको सामाजिक सञ्जालका समूहमा यसबारे चर्को चिन्ता व्यक्त गरिएको छ । यसबारेमा समाचार आएसँगै धेरैलाई अब नेपालबाट अस्ट्रेलिया पढ्न आउन गाह्रो हुने सोच आएको छ । सामाजिक सञ्जालमा अनेकौं अशंकाहरूलाई मलजल गरेर पोस्ट तथा कन्टेन्टहरू भाइरल गरिएको पनि देख्न सकिन्छ ।
यसै सन्दर्भमा अस्ट्रेलिया सरकारको आन्तरिक व्यवस्था विभाग (होम अफेयर्स)ले जुलाईको पहिलो साता ‘प्रोभाइडर अपडेट’ जारी गरेको छ । लामो समयदेखि ढिलाइ भइरहेको भिजा प्रक्रिया, अन्तर्राष्ट्रिय परिस्थिति र विद्यार्थी भिजाका सम्बन्धमा दस्तावेज सार्वजनिक गरिएको हो ।
यस दस्तावेजले नेपाली विद्यार्थीहरूका लागि आगामी दिन सहज नहुने संकेत गरेको छ । अस्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरूको भिजा आवेदनमा ‘नक्कली’ काम भएको र ‘भेट’ भनिने व्यावसायिक शिक्षा तथा तालिमको क्षेत्रमा मात्रै धेरै विद्यार्थी भर्ना भएको विषयलाई गम्भीरताका साथ लिएको छ । धेरै नेपालीहरू अस्ट्रेलिया पढ्न भन्दा पनि काम र कमाइका लागि जाने गरेको अस्ट्रेलिया र नेपालमा चर्चा हुने गर्दछ । पछिल्लो समय कोरोनाको कारण अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्ने अवसर दिएको थियो जुन अहिले पनि यथावत छ ।
अस्ट्रेलियाले विद्यार्थीलाई काम गर्ने अवसर दिएको समयमा नाम मात्रको विद्यार्थी बनेर काम गर्न आउनेको संख्या धेरै छ । नेपालीहरूमाझ नै ‘भिजा फ्याक्ट्री’ उपनाम पाउने गरेका कलेजहरूमा नेपाली विद्यार्थीको चाप बढी देख्न सकिन्छ । अस्ट्रेलियाको इमिग्रेसन विभागमा उपसचिव भइसकेका विश्लेषक अबुल रिज्वी नेपालबाट ‘भेट कोर्स’मा आउने विद्यार्थीको संख्या बढ्नु आश्चर्यजनक भएको बताउँछन् । उनले नेपालबाट अति नै धेरै संख्यामा ‘भेट’ विद्यार्थी आउनुले त्यसमा संशय पैदा गरेको उनको भनाइ छ ।
नेपाली विद्यार्थीलाई कडाइ गरिएला त ?
अस्ट्रेलियाको भिजा तथा आप्रवासन हेर्ने विभाग ‘होम अफेयर्स’को जुलाई महिनाको ‘प्रोभाइडर अपडेट’मा लेखिएको भाषा र दर्शाइएको चासोलाई हेर्ने हो भने अब नेपालबाट अस्ट्रेलिया विद्यार्थी भिजामा जानेलाई पहिले जस्तो सजिलो पक्कै हुने छैन । नेपालको आर्थिक स्तर कमजोर हुँदै गएको र श्रीलंका जस्तै टाट पल्टिने गतिमा रहेको आशंका गरिएको छ । आर्थिक सूचकांक खस्कँदै गएको अवस्थामा अस्ट्रेलियाले नेपाली विद्यार्थीको कागजातमा धेरै नै कडाइ गर्न सक्ने देखिन्छ । त्यसै पनि ‘प्रोभाइडर अपडेट’मा विद्यार्थी भिजाको सत्यनिष्ठा/इमान्दार प्रयोगमा समस्या आएको र त्यसलाई हटाउनको लागी विद्यार्थीहरूलाई ‘जूम’ मार्फत अन्तर्वार्ता लिएर विद्यार्थी साँच्चै पढ्ने मनसुबा भएको र योग्य हो भन्ने यकिन गर्नुपर्ने उल्लेख छ ।
‘प्रोभाइडर अपडेट’मा नेपाल वा अरू कुनै देशको नाम नलिइकन धेरै देशमा आर्थिक अस्थिरता बढेको र दैनिकी चलाउने खर्चको दबाब बढ्दै गएको अवस्थामा अस्ट्रेलियामा काम गर्न विद्यार्थी भिसाको उपयोग गर्ने सम्भावना भएकाले त्यसमा चनाखो रहन भनिएको छ ।
कलेज तथा विश्वविद्यालयहरूले अस्ट्रेलियामा पढ्न चाहने विद्यार्थी पढ्नका लागि आर्थिक अवस्थाले भ्याउने नभ्याउने पनि जाँच गर्न प्रस्ट भनिएको छ ।
नेपालको सन्दर्भमा ‘भेट कलेज’ पढ्ने धेरै विद्यार्थीले प्रस्तुत गरेका आर्थिक कागजातको वैधतामा शंका जनाइएको छ । कोरोना महाव्याधिको कारण बन्द भएको अस्ट्रेलियाको सीमा खुलेपछि नोभेम्बर २०२१ र २२ मे २०२२ को बीचमा मात्र १८ हजार ८ सय ८९ नेपाली विद्यार्थी अस्ट्रेलिया आइसकेका छन् । पछिल्लो समयमा व्यापक चर्चा भएको ‘भिजा रिजेक्ट’ करीब ९० प्रतिशत भनिएको छ । यस प्रकरणपछि नेपाली विद्यार्थी विशेष गरेर ‘भेट कलेज’मा आउनेहरूले कलेज, कोर्स, करीयर र आर्थिक योजना भरपर्दो नभइकन भिजाका लागि निवेदन दिएमा उनीहरूले भिजा पाउने सम्भावना कम हुन्छ ।