मेलवर्न,असार २-
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पर्ने मेलवर्नमा एक २१ वर्षिय नेपाली विद्यार्थीको मृत्यु भएको छ । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका युवा संयोजक बबिन मिश्रका अनुसार चितवन स्थाई घर भएका समिर कोइराला बुधबार दिउसो घरमा मृत अवस्थामा भेटिएका हुन् । समिर ६ महिना अघि मात्रै अध्ययनका लागि अष्ट्रेलिया गएको थिए । उनीसंगै बस्दै आएका तथा नाताले दाई पर्ने मनिष ढकालले दिएको जानकारी अनुसार समिर केही समयदेखि मानसिक तनावमा थिए । समिर कुकरी पढिरहेका थिए ।
घरबाट टाढा, काम र पढाईको चापले समिर केही समयदेखि तनावमा देखिएको ढकालले बताउनुभयो । पछिल्लो समय आमाले समिरलाई धेरै काम नगर, आफ्नो स्वास्थ्यको ख्याल राख्नु तथा खुसी हुन भनेर सम्झाएको मनिषले बताउनुभयो । उनको अवस्थाका बारेमा मनिषले केही दिन अघि मात्रै अमेरिकामा बस्दै आउनु भएका समिरका मामालाई जानकारी गराएका थिए । मामा मिलन खतिवडाले भान्जालाई नेपाल पठाउनका लागि परिवारसंग कुरा गर्न नपाउदै दुखद घटना भएको जानकारी दिनुभयो ।
तनावमा देखेपछि आफुले काउन्सेलिङमा पठाउन कोसिस गरेको तर समिर जान नमानेको युवा संयोजक मिश्रले बताउनुभयो । समिरको निधनको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ऋण खोजेर समिरलाई अष्ट्रेलिया पठाएका परिवारको आर्थिक अवस्था कमजोर रहेको युवा संयोजक मिश्रले जानकारी दिनुभयो । समिरको शव पठाउन तथा परिवारलाई सहयोग गर्न एनआरएनए अष्ट्रेलियाले पहल गरिरहेको मिश्रले जानकारी दिनुभयो ।