तनहुँ : आइतबार रातिदेखि परेको झरीका कारण आएको बाढीले बगाएर एक वृद्ध बेपत्ता भएका छन् । सोमबार बिहान भानु नगरपालिका–११ स्थित ढाँडफेदी खोला तर्ने क्रममा स्थानीय ६० वर्षीय चन्द्रबहादुर गुरुङलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वर्षाका कारण ढाँडफेदी खोलामा आएको बाढीले बगाउँदा गुरुङ बेपत्ता भएका र उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । यस्तै, वर्षाका कारण भानु–९ बाइसजाँगरदेखि लमजुङको पाँचभाई चौतारा जाने मोटरमार्ग समेत भत्किएको छ भने मर्स्याङ्दी नदी माथिको झोलुंगे पुलमा समेत क्षति पुगेको छ ।
उक्त पहिरोले स्थानीय राहरी रोक्का (कान्छा दाई)को बंगुर, बाख्रा, हाँस, गाईको गोठसमेत पूर्णरुपमा क्षति पुर्याएको बताइएको छ । भानु मोटर मार्ग अन्तरगत भानुको वडा नम्बर २ र ५ जोड्ने चुँदी खोलाको बाङ्गेरुअ पुलको पर्खाल भत्काउँदा यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् ।