टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार उठेका नवलपरासीका २ जना उमेदवारले वडाअध्यक्ष जितेका छन्।
चुनाव जित्नेमा रामग्राम नगरपालिका–१५ मा धनपद यादव र बर्दघाट नगरपालिका–३ मा प्रकाशचन्द्र अधिकारी छन् । महिला सदस्यबाहेक स्वतन्त्रको टिम नै बनाएर चुनाव लडेका अधिकारीले प्यानलै जितेका हुन्।
सबै उम्मेदवार कांग्रेसका क्रियाशील सदस्य थिए। पार्टीले टिकट नदिएपछि उनीहरु स्वतन्त्रमा उठेका हुन्। रामग्राममा चुनाव जितेका यादव यसअघि कांग्रेसबाट वडाध्यक्षमै निर्वाचित भएका थिए।
दुवै पालिकामा उनीहरुलाई टिकट दिनुपर्ने दबाब रहेपनि अर्केलाई दिएपछि कार्यकर्ता असन्तुष्ट थिए। बर्दघाट नगरपालिकामा चुनाव जितेका अधिकारीलाई शुरुमा टिकट दिएपनि पछि गठबन्धनका नाउँमा टिकट खोसिएको थियो।
त्यसपछि उनले पार्टीबाट राजीनामा दिएर टिम बनाएर चुनाव लडेका थिए।
रामग्राममा यादवले वडाध्यक्ष जित्दा कांग्रेसका उमेदवार चौथो भएका छन् । यादवले माओवादी केन्द्रका उमेदवार देवनारायण पाण्डेलाई ३ सय ११ मत अन्तरले पराजित गरेका हुन्।
बर्दघाटमा अधिकारीले जित्दा टिकट खोसेर दिएका गठबन्धनका उम्मेदवार भने तेस्रो भएका छन्।
अधिकारीले एमालेका उमेदवार जीवनबहादुर थारुलाई १ सय ३१ मतले पराजित गरेका हुन्।