काठमाडौ : सर्लाहीको कौडेना गाउँपालिका र चक्रघट्टा गाउँपालिकामा प्रहरीले हवाइ फायर गरेको छ ।
मतपेटिका संकलन गरेर निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएपछि राजनीतिक दलका कार्यकर्ताले ढुंगामुढा भएपछि कौडेना गाउँपालिका कार्यालयमा सुरक्षाकर्मीले हवाइ फायर गरेका हुन् ।
त्यस्तै चक्रघट्टा गाउँपालिका–१ शिवनगरमा पनि मतपेटिका उठाएर लैजाने बेलामा ढुंगामुढा भएपछि सुरक्षाकर्मीले हवाइ फायर गरेका छन् । दुवै ठाउँमा दर्जनौं राउण्ड हवाइ फायर भएको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले कौडेना र चक्रघट्टामा स्थिति नियन्त्रण बाहिर गएपछि हवाइ फायर गर्नुपरेको जानकारी दिनुभयो ।
उहाँले जिल्लाभर मतदान सम्पन्न भएको र अहिले मतपेटिका संकलन गरेर मतगणना स्थलसम्म पुर्याउने काम भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर देवकोटाले १७ वटा स्थानीय तहको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको र ३ वटा स्थानीय तहको मतपेटिका ल्याउने क्रममा रहेको जानकारी दिनुभयो ।