काठमाडौं : विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकलाई लिएर नेपाली कांग्रेसले चेतावनी जारी गरेको छ ।
स्थानीय तह निर्वाचनमा वागी उम्मेदवारी दिएकाहरुलाई कांग्रेसले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने चेतावनी जारी गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध वागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रहसहितको चेतावनी जारी गर्नुभएको हो ।
२०७९ बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार विहान १० (दश) बजेदेखि ५ (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ ।
तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराईन्छ ।