चितवन : यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन देशैभर एकसाथ हुँदैछ । अहिले निर्वाचनको तयारी भइरहँदा आफ्ना मतदाता कसरी फकाउने भन्नेमा राजनीतिक दल र तिनका कार्यकर्ताहरुमा ध्यानकेन्द्रीत छ ।
पछिल्लो पाँच वर्षको अवधिमा धेरै नयाँ मतदाताहरु थपिएकाले राजनीतिक दलहरुलाई मतदाता रिझाउन कठिन बन्न सक्छ । आज हामीले चितवनमा थपिएका मतदाता संख्यालाई प्रस्तुत गर्दैछौं । जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवनमा यसपटक कुल ३ लाख ९७ हजार ६८५ जना मतदाता रहेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा ३ लाख १३ हजार ३ जना मात्रै मतदाता थिए ।
यसरी पाँच वर्षको अवधिमा ८४ हजार ६८२ नयाँ मतदाता थपिएका छन् । ती मध्ये ४२ हजार ४१५ महिला र ४२ हजार २६७ पुरुष मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए । उनका अनुसार थपिएका मतदाता धेरैजसो युवा समूहका छन् ।
भरतपुरमा बढी थपिए मतदाता
चितवनमा एक महानगरसहित ७ स्थानीय तह छन् । ती मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा मतदाता थपिएका छन् । निर्वाचन कार्यालय चितवनका अनुसार भरतपुर मात्रै ३५ हजार ४७८ नयाँ मतदाता छन् । यससंगै २९ वटा वडा रहेको महानगरमा कुल मतदाता १ लाख ८५ हजार ७५२ पुगेको छ । जसमध्ये ९६ हजार ८६७ महिला, ८८ हजार ८८४ पुरुष र एक जना तेस्रो लिंगी मतदाता छन् ।
कुन स्थानीय तहमा कति थपिए नयाँ मतदाता ?
भरतपुर महानगरपालिका पछि सबैभन्दा धेरै मतदाता पूर्वीचितवनको राप्ती नगरपालिकामा थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राप्ती नगरपालिकामा १० हजार ६५१ जना नयाँ मतदाता थपिएका छन् । यससंगै १३ वटा वडा रहेको राप्तीमा मतदाता संख्या ४० हजार ६४९ पुगेको छ । ती मध्ये २० हजार ४९५ पुरुष र २० हजार १५४ महिला छन् ।
यसैगरि खैरहनी नगरपालिकामा १० हजार २६८ नयाँ मतदाता थपिएका छन् । यससंगै ११ वटा वडा रहेको खैरहनीमा कुल मतदाता संख्या ४३ हजार ५३१ पुगेको छ । ती मध्ये २२ हजार ७९९ महिला र २० हजार ७३२ पुरुष मतदाता छन् । त्यस्तै रत्ननगर नगरपालिकामा ९ हजार ४८८ नयाँ मतदाता थपिएका छन् । १६ वटा वडा रहेको रत्ननगरमा कुल मतदाता ५२ हजार ६४२ पुगेको छ । जसमध्ये २७ हजार २९५ महिला र २५ हजार ३४७ पुरुष छन् ।
त्यस्तै पूर्वीचितवनकै कालिका नगरपालिकामा ८ हजार १७० नयाँ मतदाता थपिएका छन् । यससंगै ११ वटा वडा रहेको कालिकामा कुल मतदाता संख्या ३१ हजार १५७ पुगेको छ । जसमध्ये १५ हजार ५९७ महिला र १५ हजार ५६० पुरुष छन् ।
यसैगरि माडी नगरपालिकामा ६ हजार ६४७ मतदाता थपिएका छन् । यससंगै ९ वटा वडा रहेको माडीमा कुल मतदाता २८ हजार ३२० पुगेको छ । जसमध्ये १४ हजार ५६२ पुरुष र १३ हजार ७५८ पुरुष छन् ।
त्यस्तै जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा ३ हजार ९८० नयाँ मतदाता थपिएका छन् । ७ वटा वडा रहेको यहाँ कुल मतदाता १५ हजार ६३४ पुगेको छ । जसमध्ये ७ हजार ३९२ महिला र ८ हजार २४२ पुरुष छन् ।