चितवन : राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित खरालको घरमा गएराति आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिनुभयो ।
खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ । अध्यक्ष खरालको घरमा भएको आक्रमणको उपाध्यक्ष भट्टराईले भर्त्सना गर्नुभएको छ । स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषी माथि कडा कारबाही गर्न उहाँले माग गर्नुभएको छ । ।
घटनाको जानकारी आएपछि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो । ‘हामीले अनुसन्धान सुरु गरेका छौँ । शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरेका छौँ । अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन’, उहाँले भन्नुभयो ।