भरतपुर : विगत २ वर्षसम्म कोभिड–१९ महामारीका कारण रोकिन पुगेको बिक्रम बाबा मेला यस वर्ष हुने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुने सो मेला १५ दिन सञ्चालन हुदैछ ।
चैते दशैको अवसर पारेर मेला हुदै आएको छ । पटिहानी उपभोक्ता समितिका उपाध्यक्ष कृष्णहरि शर्माले विक्रमबाबा क्षेत्रमा सरसफाई, पूजापाठ गर्ने ठाउँ व्यवस्थापनको काम सुरु भएको बताउनुभयो । उहाँका अनुसार दर्शन गर्न आउनेलाई पीउने पानी, शौचालयको व्यवस्था मिलाइने बताउनुभयो ।
केरुङगा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलले यसपाली मेला दिनभर सञ्चालन भएपनि राती बस्ने सुविधा हटाइएको बताउनुभयो । राप्ती वारी रहेको घैलाघारी सामुदायिक वन बाहिरको सडक छेउछाउमा मात्रै अस्थायी रुपमा व्यापार गर्न पाइने व्यवस्था मिलाइएको छ ।
भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीहरुलाई निकुञ्जबाहिर पार्किङ गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
घैलाघारी सामुदायिक वनका अध्यक्ष लिलाराज भुषालले यसपाली व्यवसायीक स्टलहरु सहितको मेला नहुने बताउनुभयो । पूजासामाग्री भने पार्किङ आसपासका क्षेत्रमा बस्न सक्ने बताउनुभयो ।
विहान ६ बजेदेखि अगाडी र बेलुका ६ बजेपछि विक्रमबाबा दर्शन गर्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । हात्तीले धुर्वमा ४ घरमा क्षती पु¥याएकाले मेला घुम्न आउनेलाई बेलैमा घर फर्किन समेत आग्रह गरिएको छ ।
केरुङगा उपभोक्ता समिति र पहिटानी उपभोक्ता समितिले आयोजना गरेको मेला चैत १८ देखि बैशाख ३ गतेसम्म चल्नेछ ।