भरतपुर : भरतपुर महानगरपालिका मेयर रेनु दाहालले रंगशाला निर्माणको कामलाई महानगरले प्राथमिकतामा राखेको वताउनुभएको छ ।
भरतपुर १९ शारदानगरमा सुरू भएको दोस्रो राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन समारोहमा बोल्दै मेयर दाहालले यस्तो वताउनुभएको हो ।
रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम छिट्टै सरकारले अघि बढाउने उहाले वताउनुभयो ।
‘अहिले अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम महानगरको प्राथमिकतामा भएको कारणले अन्य खेल मैदानको काम द्रुत गतिमा अघि बढाउन सकेका छैनौं । तर पनि हामीले प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेर कामलाई निरन्तरता दिइरहेका छौं’, उहाले भन्नुभयो ।
उहाले रंगशाला बारे छिट्टै खुशीको खबर सुन्न पाइने समेत वताउनुभयो ।’रंगशालाको काम सरकारले अघि बढाउँछ । खुशीको कुरा छिट्टै सुन्न पाउनेछौं’, उहाले भन्नुभयो । उहाले महानगरले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको दाबी गर्नुभयो ।
भरतपुर खेलकुदको हबको रुपमा बिकास भइरहेको उहाको भनाइ थियो । ‘महानगरले खेलकुदका क्षेत्रमा प्राथमिकताका साथ योजना, बजेट र खेलकुद प्रतियोगिताहरु गरिरहेको छ । केही दिनमा राष्ट्रियस्तरको साइकिलिङ प्रतियोगिता गर्दैछौं, उहाले भन्नुभयो , खेलकुदको हबको रुपमा महानगरपालिका बिकास भइरहेको छ ।’ यस्तै उहाले भरतपुर २० भिमनगरमा फुटबल रंगशालाको काम पनि तिव्र गतिमा अघि बढीरहेको वताउनुभयो ।