रामेछाप : मन्थली नगरपालिका–६ भलुवाजोरमा १२ वर्षीय बालिकालाई २१ घण्टासम्म घरको थाममा नाम्लोले बाँधेर यातना दिइएको छ ।
दलित बालिका घरभित्र प्रवेश गरेको भनी २१ घण्टासम्म नाम्लोले बाँधेर यातना दिईएको हो । स्थानीय शेरबहादुर श्रेष्ठले आफ्नो घरमा दलित प्रवेश गरेको भनी छिमेकी १२ वर्षीय बालिकालाई यातना दिएका हुन् ।
सोमबार अपराह्न ४ बजेदेखि मग लबार मध्यान्न १२ बजेसम्म श्रेष्ठले अवोध बालिकालाई बाँधेर यातना दिएका थिए । स्थानीय जनप्रतिनिधिले बालिकालाई छोडिदिन अनुरोध गर्दा समेत दलित घरभित्र पसेर अछुतो बनाइदिएकाले घर चोख्याउने खर्च नदिए सम्म नछोड्ने भन्दै बाँधेर राखेका थिए ।
नेपाली थरकी दलित बालिकाले घरभित्र पसेर दही चोरेकोले बाँधेर राखिएको श्रेष्ठको भनाई थियो । आफूले बालिकालाई छोडिदिन अनुरोध गर्दा घर अछुतो भएकाले घरको जिम्मा दिनुपर्ने पूजा लागैदिनुपरने भन्दै छोड्न नमानेको एक स्थानीयले बताए |
बालिकालाई बाँधेर राखेको सूचनाको आधारमा घटनास्थल पुगेका प्रहरीले बालिकालाई बाँधेको नाम्लो खुस्काउन लगाएका थिए । प्रहरीले खुस्काउन भने पछिमात्र बालिकालाई बाँधेको नाम्लो घरधनी बालकुमारी श्रेष्ठले फुकाइदिएकी थिइन ।
बालिकालाई बाँधेर राखेको खबर पाएपछि हेर्न जाँदा हात, कम्मर र खुट्टामा बाधेर बस्न समेत अफ्ठेरो हुने गरी राखिएको अवस्थामा देखेको पीडित बालिकाका ठूलोबुबा सार्के नेपालीले बताए ।