तनहुँ : तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगो झन्डै चार घण्टापछि निभाइएको छ ।आज बिहान साढे १० बजेदेखि दमाैली बजारमा रहेकाे भूपाल हार्डवेयर गोदाममा आगो लागेको थियो ।
काठमाण्डौबाट गएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।
सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्याएकाे थियो । हेलिकप्टरकै कारण आगाे छिटो निभाउन सकिएको बताइएको छ ।
उहाँका अनुसार आगलागीमा परेर सात वटा घर जलेका छन् । अरू ठाउँमा आगो नफैलियोस् भनेर अरू चार वटा घर डोजर लगाएर भत्काइएको छ ।
आगलागीका कारण मानवीय क्षति नभए पनि अरू क्षतिको विवरण सङ्कलनको काम केही बेरमा सुरु गरिने पनि गैरेले बताउनुभयो ।