नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रु वाहक बसमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्डीमा आगलागी भएर पूर्ण रूपमा क्षति पुगेको छ । भे१ ख २९५६ नम्बरको बसमा आइतबार साँझ अन्दाजी ७ बजे आगो लागेको थियो ।
बसको विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगो सल्किएको थाहा भएपछि यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए । बसको डिक्कीमा रहेको सामान भने निकाल्न नसकेको एक यात्रुले बताए ।
बसमा १४ जना यात्रु रहेका इलाका प्रहरी कार्यालय गोरु सिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले बताए । बसमा लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो ।
आगो निभाउन शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी खटिएका थिए ।