राष्ट्रिय भेषभूषा दौरा सरुवाल, निलो स्टकोट र कालो भादगाउँले टोपीमा सजिएका ठाउँअनुसारको भेषभूषा लगाएर ऋषिराम परियार अहिले सिरहाको धनगढी पुगेका छन् ।
उल्टोे हिँडेर विश्व रेकर्ड बनाउने तयारीमा जुटेका दाङ तुलसीपुर– ३ रानागाउँका परियार दुई सय ९२ किलोमिटरको यात्रा पूरा गरि सिरहाको धनगढी पुगेका हुन् ।
परियारले दुई साताअघि मेची–महाकाली उल्टो पैदल यात्रा सुरु गरेका हुन् ।
परियार उल्टो पैदल यात्रा थालेको आज (सोमवार) १७ दिन भयो । दैनिक २२ किलोमिटरसम्म यात्रा गर्ने परियारले अहिलेसम्म बिसाएका छैनन् । मुख्य राजमार्गको एक छेउ भएर निरन्तर हिँडिरहने ऋषि झोलामा नेपालको राष्ट्रिय झन्डा सिउरिएर हिँड्छन् ।
आफ्नो यात्रालाई निरन्तरता दिने ऋषि एक्लै यात्रामा छन् । तर सामाजिक सञ्जालमार्फत उनको अभियानबारे थाहा पाएका स्थानीयहरू पनि सँगसँगै हिँड्छन् ।
‘सुरुमा मेरो अभियानबारे कमै मानिसलाई थाहा थियो, उनले भने, अहिले धेरैले थाहा पाउनु भयो । जहाँ पुग्छु, न्यायोे स्वागत पाउँछु । अनि धेरै जनाले एक–दुई किलोमिटर भएपनि हिँडेर साथ दिनुहुन्छ ।’
विश्व रेकर्ड राख्ने सोचले उल्टो यात्रामा निस्किएका परियार महाकाली पुग्न अब दुई महिना लाग्ने बताउँछन् । उनका अनुसार अझै हजार किलोमिटर यात्रा बाँकी छ ।
‘ उनी भन्छन्, ‘नियमित हिँड्दा अझै दुई महिना लाग्छ । हजार किमि अझै बाँकी छ । बीचमा घना जङ्गल र वन्यजन्तु आरक्ष केन्द्र पर्ने भएका कारण कसरी यात्रा तय गर्ने भन्ने अन्यौलता छँदै छ ।’
वन्यजन्तुले आक्रमण गर्ने भएका कारण दुवै निकुञ्ज उल्टो पैदल यात्रामा रहेका परियारका लागि चुनौती बन्न सक्छ ।
‘म जहाँ पुगे पनि सुरक्षा निकायसँग समन्वय गरिरहेकै हुन्छु, बाँके पुग्नुअगावै त्यहाँको सुुरक्षा निकायलाई जानकारी गराउँछु,’ उनी भन्छन्, ‘अहिलेदेखि नै त्यहाँका केही संस्था/ युवाहरूले बाँके र बर्दियाको जङ्गलभरि साथ दिने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यसबाहेक सुरक्षा निकायलाई स्कर्टिङको व्यवस्था गरिदिन माग गर्ने छु ।’ सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा बाँके र बर्दियाको जङ्गल पार गर्ने लक्ष्य लिएका परियारले त्यो जङ्गलमा गाडीमा नचढेर निरन्तर उल्टो यात्रा नै गर्ने जनाए ।
उनी भन्छन्, आजभोलि मानिसहरू हिँड्न छोडेर सुविधाभोगी धेरै हुँदा कति धेरै रोगको सिकार भइरहेका छन् ।हिँड्नु जति स्वास्थ्यलाई राम्रो केही छैन । डाक्टर र स्वास्थ्य विशेषज्ञले नछुटाई भन्ने कुरा हो हिँडडुल गर्नुस् ।
यसै सन्देश बोकेर उल्टो यात्रा थालेको हुँ ।’
अहिले उनको उल्टो पैदल यात्रामा विश्व रेकर्ड दर्ता गराउने टोलीले परियारसँग समन्वय गरिरहेको छ ।