काठमाडौं : ताप्लेजुङमा बिजुलीको पोलवाट खसेर सोमबार एक कर्मचारीको मृत्यु भएको छ । पोलमा चढेर बिजुली बनाउने क्रममा पोलवाट झरेर नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रुपमा कार्यरत फुङ्लिङ नगरपालिका –४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू रहनुभएको छ ।
लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा पोलवाट खसेर पक्की सडकमा बजारिनुभएको थियो । पोलवाट खसेर गम्भीर घाइते हुनुभएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाका अनुसार उपचारका लागि अस्पताल पुर्याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।