काठमाडौं : पर्यटक भिषामा खाडी मुलुक पुगेर अलपत्र नेपालीहरु स्वदेश फर्किएर सरकारको ध्यानाकर्षण गराएपछि अहिले सरकार पनि त्यस्ता गिरोह विरुद्ध सक्रिय भएर लागेको छ । गृह मन्त्रालयले त्यसरी भिजिट भिषामा मलेसिया लगायत खाडी मुलुक पठाउँदा अध्यागमनका अधिकृतहरु समेत सहयोगी बनेको भन्दै कारवाहीको प्रकृया सुरु गरेको छ ।
मानव तस्करलाई सघाएको आरोपमा अध्यागमन कार्यालयका ९ जना अधिकृत विरुद्ध गृह मन्त्रालयले एक्सन लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृतलाई फिर्ता बोलाएको छ।
गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको हो। उनीहरुले मानव त स्क रलाई सहयोग गरेको खुल्न आएपछि कारवाही प्रकृया सुरु भएको हो । सुरुमा अध्यागमन कार्यालयवाट उनीहरुलाई हटाएर छानविन थालेको स्रोतले बताएको छ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार त्रिबी अध्यागमन कार्यालयबाट फिर्ता हुने अधिकृतहरुमा पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दिपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यम बहादुर भट्टराई छन्।
मानव तस्करसँगको मिलेमतोमा सर्वसाधारणलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुक पठाउन अध्यागमनमा सेटिङ मिलाउने गरेको उनीहरुमाथि आरोप छ। विभिन्न म्यानपावर र एयरलाइन्ससंग मिलेर उनीहरुले भिजिट भिसामा कामदार पठाएको खुल्न आएपछि अनुसन्धान सुरु गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीहरुको गतिविधिमाथि निगरानी गरिरहेको स्रोतले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा से टि ङ भएको गुनासो आएपछि केही दिनअघि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले स्थलगत अनुगमनसमेत गरेका थिए।
गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलक गई विभिन्न सर्वसाधारणले कठिनाइ भोगिरहेको स्थितिको विश्लेषण गरी ठोस योजना पेस गर्न सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा अध्ययन समिति गठन गरेको छ। पोखरेल नेतृत्वको अध्ययन समितिले काम सुरु गरिसकेको छ।