गैँडाकोट : गैँडाकोट नगरपालिकाले गरेको एक हप्ते कडाईमा केही फुकुवा गरेको छ । गत जेठ ३ गते राती १२ बजेदेखी १० गते राती १२ बजेसम्म एक हप्ता अत्यावश्यक बाहेकका सेवा बन्द गरिएकोमा यसमा केही लचकता अपनाउँदै जिल्ला प्रशासन कार्यालयबाट विभिन्न मितिमा जारि भएका निषेधाज्ञा र सूचना बमोजिम नै गर्न भनेको छ । जिल्लामा यहि जेठ १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
आज नगरपालिकाकामा कोभिड १९ को रोकथाम तथा व्यवस्थथापन सम्बन्धमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला प्रशासन कार्यालयबाट जारि भएको निषेधाज्ञा अनुसार गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा कोहीपनि घरबाहिर ननिस्कने र निस्कनै परेमा मास्क र स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ । नगर क्षेत्रमा सुरक्षामा मापदण्ड प्रयोग गरि अब भेटनरी समेतका औषधी पसल, खाद्यवस्तु, तरकारी, फलफुल, दुध र पानी बिहान ६ बजेदेखी ९ बजेसम्म खोल्न सकिने छ । तर अन्य व्यापार व्यवसाय लगायत सम्पूर्ण क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ ।
सहकारी समेतका बैंक न्युनतम कर्मचारीको उपस्थितिमा हप्ताको दुई दिन बिहान १० बजेदेखी १२ बजेसम्म खोल्न पाईने छ । एम्बुलेन्स, शववाहन, खाद्यवस्तु, तरकारी, फलफुल, दुध र पानी ढुवानी गर्ने बाहेक अन्य सवारी साधन सञ्चालन गर्न भने पाईने छैन । पूजाआजा वढिमा १० जना उपस्थित भई गर्न सकिने व्यवस्था गरिएको छ । सुरक्षा मापदण्ड भने पालना गर्न अनिर्वाय भनिएको छ ।