७ चैत, सुनुवाइविनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् । उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन् ।
कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाले तिम्सिना थुनामुक्त भएको बताए । उनले भने, ‘आजै स्थलमार्ग हुँदै उहाँहरु घर फर्किँदै हुनुहुन्छ ।’ उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ उनलाई छाड्न आदेश दिएको थियो ।
अदालतले दुर्गाप्रसादको मा-नसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो । प्रकाश शुक्रबारै कोलकाता पुगे पनि कानुनी प्रक्रिया पूरा नहुँदा शनिबार मात्रै दुर्गाप्रसाद छुटेका हुन् ।
अदालतले प्रत्येक ६-६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने पनि भनेको छ । त्यसो त अदालतले उनी करिब ४१ वर्ष जेल बसिसकेको बताउँदै थप समय कारागारमा राखेर न्यायको कुनै औचित्य पूरा नहुने पनि भनेको थियो ।
दुर्गाप्रसादको पक्षमा उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सुब्रज्योति घोषले बसह गरेका थिए । उनीहरुले न्यायको पक्षमा भन्दै निःशुल्क बहस गरेका थिए ।