शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत २०७७ सालको कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्ने सम्भावना न्यून रहेको स्पष्ट पारेका छन् । उनले परीक्षाका सन्दर्भमा विभिन्न विकल्पका बारेमा छलफल भइरहेको बताए ।
मन्त्री श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने जानकारी दिए ।
नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा उनले सो कुरा बताएका हुन् । अनेरास्ववियुका अध्यक्ष ऐन महर सहितको टोलीले मन्त्री श्रेष्ठलाई आज १३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
त्यस क्रममा मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विधिका मन्त्रालयले यही महिनाभित्र निर्णय लिने जानकारी दिँदै भने– सबै परीक्षाको विषयमा चाडै निर्णैय गर्नेछौँ ।
उनले सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा शिक्षाको बजेट बढ्न सक्ने आंकलन गर्दै नयाँ नयाँ योजना आउनसक्ने उल्लेख गरे ।



