नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–५ मा रहेको राधाकृष्ण मन्दिरमा अखण्ड कीर्तन सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा मन्दिरमा आज दिउँसो १२ बजेबाट २४ घण्टे अखण्ड कीर्तन सुरु भएको हो ।
राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खिमलाल सापकोटाले मन्दिरमा विगतका वर्षहरुदेखि नै अखण्ड हरिकीर्तन हुँदै आएको जानकारी दिनुभयो । धर्मसंस्कृति संरक्षण र प्रवद्र्धन गर्नका लागि बर्सेनि श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा अखण्ड हरिकीर्तनसहितका विभिन्न कार्यक्रमहरु हुँदै आएको बताउनुभयो । मन्दिरमा अहिले अखण्ड हरिकीर्तनसहित पूजाआजा तथा प्रसाद वितरण भइरहेको उहाँको भनाइ छ ।
राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मेघराज कँडेलले आज राति राधाकृष्णको साँस्कृतिक झाँकी निकालिने बताउनुभयो । आज राति ९ बजेपछि साँस्कृतिक झाँकी र श्रीकृष्णको जन्म तथा लिलाको बारेमा नाटक प्रस्तुत गरिने कँडेलको भनाइ छ ।